Monday, September 7, 2020

सार्वजनिक ऋणको जोखिम र यसको भार नेपाली जनतामा बढेकै हो ?


सार्वजनिक ऋणलाई अर्को भाषामा सरकारी ऋण अथवा राष्ट्र ऋण पनि भन्ने गरिन्छ । सार्वजनिक ऋण बजेट घाटा परिपूर्ति गर्ने एउटा उपकरण हो । हाम्रो जस्तो कम विकसित अर्थतन्त्रको प्रमुख आर्थिक समस्या भनेको सरकारले गर्नुपर्ने खर्चको लागि आम्दानी स्रोतको अभाव हो । आम्दानी र खर्चबीचको ठूलो अन्तर हुने समस्याको समाधान गर्ने एउटा उपाय भनेको आन्तरिक र बाह्य ऋण लिएर खर्च गर्नु हो ।


केही वर्ष यताको तथ्याङ्क हेर्दा विभिन्न द्वीपक्षीय र बहुपक्षीय दाताबाट दिने  विदेशी सहयोगको रकममा अनुदानको अंश घट्दै गएको र सशर्त ऋणको अंश बढ्दै गएको देखिन्छ । देश संघीयतामा गएको छ र संघीयतामा जानुको अर्थ देशले विकासको माग गर्नु हो ।

विकासको लागि सरकारले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतजस्ता भौतिक पूर्वाधारमा लगानी बढाउनुपर्ने हुन्छ र अर्कोतर्फ संघीयता व्यवस्थापनको खर्च पनि त्यही अनुपातमा बढेकाले सरकारले गर्नुपर्ने चालू खर्च र पूँजीगत खर्च बढेको छ तर खर्चको अनुपातमा आम्दानी वृद्धि हुन नसक्दा प्रत्येक वर्ष बजेट घाटा बढ्दै गएको छ । त्यसकारण बजेट घाटा पूर्ति गर्न सरकारले प्रयोग गर्ने सार्वजनिक ऋण पनि प्रत्येक वर्ष बढ्दै गएको छ ।

यसले एकातर्फ सरकारको ऋणको रिफाइनान्सिङ  जोखिम बढ्दै गएको छ, (सफ्ट लोन)सुलभ कर्जामा कमी आई ऋणको सेवा लागत बढेको छ भने अर्कोतर्फ सर्वसाधारण जनतामा राज्यले यति सारो ऋण कसरी तिर्ला ? र यस प्रकारको ऋणले गर्दा देश नै डुब्ने त होइन भन्ने सन्त्रास बढेको पाइन्छ ।

अहिलेको यो विश्वव्यापी कोरोना महामारीले गर्दा कुनै एक देशले अर्को देशलाई सित्तैमा अनुदान दिने अवस्थामा छैन जसले गर्दा एकातिर सरकारले खर्च गर्नुपर्ने दायित्व ह्वात्तै बढेको छ भने अर्कोतिर उद्योगधन्दा, व्यापार र पर्यटन  ठप्प हुँदा सरकारको आम्दानीको स्रोतमा ठुलो गिरावट आएको छ। यस अवस्थामा सरकारको विकल्प विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक जस्ता बहुपक्षीय विकास साझेदार सँग लिने बाह्य ऋण र देशभित्रै लिने आन्तरिक ऋण नै हो र तिर्नुपर्ने ऋण र व्याजको भाका पछि सार्नु हो ।

नेपालमा सार्वजनिक ऋणको विकासक्रम र यसको संरचना

नेपालले वि.सं. २००७ सालबाट औपचारिक वैदेशिक सहायता लिन शुरू गर्यो । वि.सं. २००८ सालमा नेपाल कोलम्बो प्लानमा सदस्यता लिएपछि भने वैदेशिक सहायतामा विविधता आउन थाल्यो । वि.सं. २०१३ को पहिलो पञ्चवर्षीय योजनामा विकास खर्चको लागि वैदेशिक सहायता ९०% थियो तर वि.सं. २०२१ भन्दा पहिले वैदेशिक सहयोग अनुदानको रुपमा लिएपनि नेपाल सरकारले कुनै सार्वजनिक ऋण लिएको इतिहास भने छैन । यसपछि भने सरकारले बजेट घाटा पूर्ति गर्दै सार्वजनिक खर्च धान्न आन्तरिक र बाह्य दुबै ऋण परिचालन गरेको देखिन्छ ।

आर्थिक वर्ष वि.सं. २०३१/३२ साल सम्म आउँदा सार्वजनिक ऋण र कुल ग्राहस्थ उत्पादनको औसत अनुपात ४.९५% थियो भने २०४१/४२ सम्म बढेर ६.२१% भएको थियो त्यसपछिको दशकमा सार्वजनिक ऋण ठुलो मात्रामा बढेर आर्थिक वर्ष २०५१/५२ मा कुल ग्राहस्थ उत्पादनको ६५.५३% भयो । २०६१-६२ मा ५२.१२% भएको सार्वजनिक ऋण  २०७१-७२ मा २५.३५% झर्यो र फेरि केही बढेर २०७५-७६ मा ३०.२२% हुँदै आर्थिक वर्ष २०७६-७७ को अन्त्यमा ३७.७% भएको छ (स्रोतः अर्थमन्त्रालय वेभसाइट)।

यो तथ्याङ्कले के देखाउँछ भने वि.सं. २०५१ देखि २०६१ सम्म माओवादी द्वन्द्वको बेलाले गर्दा नेपालको कुल ग्राहस्थ उत्पादन घट्यो तर ऋण यथावत रहेकोले सार्वजनिक ऋण र कुल ग्राहस्थ उत्पादनको अनुपात बढी देखियो । त्यस पछिको वर्षमा भने देशको उत्पादन बढे अनुसार ऋण नबढेकाले ऋण र कुल ग्राहस्थ उत्पादनको अनुपात घटेको देखिन्छ ।

नेपालमा आन्तरिक ऋण भन्दा बाह्य ऋणको अनुपात बढी छ। अहिले जिडीपीको ३७.७% सार्वजनिक ऋण हुँदा बाह्य ऋण २१.४% छ भने आन्तरिक ऋण १६.३% छ । आन्तरिक ऋण उठाउन बजेटमा सरकारले घोषणा गरेअनुरुप नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल र विभिन्न सरकारी ऋणपत्र निस्कासन गर्छ भने बाह्य ऋणको लागि विभिन्न द्वीपक्षीय र बहुपक्षीय विकास साझेदारसँग अर्थमन्त्रालयले कुरा अघि बढाउँछ। अहिले भएको जम्मा १४१९ अर्ब सार्वजनिक ऋण मध्य बाह्य ऋण ८०५.८३ अर्ब छ जसमा  द्विपक्षीय विकास साझेदार मध्य सबैभन्दा बढि सहायता बेलायतको छ भने त्यसपछि क्रमश अमेरिका ,जापान, चाइना र भारत छन् । बहुपक्षीय विकास साझेदारमा विश्व बैंकको सबैभन्दा बढी योगदान छ भने त्यसपछि क्रमश: एसियाली विकास बैंक ,युरोपियन युनियन र युएनडीपीको रहेका छन् । सरकारको आन्तरिक ऋण ६१३.२१ अर्बमध्ये धेरै वाणिज्य बैंक तथा अन्य वित्तीय संस्था, नेपाल राष्ट्र बैंक, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम जस्ता ठूला संस्थाबाट लिएको छ ।

के नेपालमा सार्वजनिक ऋणको जोखिम र यसको भार नेपाली जनतामा बढेकै हो त?

अन्तर्राष्ट्रिय अभ्यास, विभिन्न आर्थिक तथ्यांक र  नेपालको आवश्यकताले नेपालको सार्वजनिक ऋण लिने क्षमता अहिलेको भन्दा धेरै नै रहेको देखाउँछ । तर आम मानिसमा भने सार्वजनिक ऋणको बोझ बढिरहेको र भविष्यमा  हामीले यसको नराम्रो मूल्य चुकाउनुपर्छ भन्ने भनाइहरू यत्रतत्र सुन्नमा आउँछ । अहिले भर्खर नेपाल राष्ट्र बैंकले निकालेको देशको वार्षिक आर्थिक समीक्षा अनुसार प्रत्येक नेपाली बराबर झन्डै ४७००० रुपैयाँ ऋण रहेको देखाउँछ । आम नागरिक पनि प्रतिव्यक्ति ऋण देखेर आत्तिनु पर्ने अवस्था छैन तर सबै कुरा ऋणको उपयोग कसरी गर्छौं भन्ने कुराले अर्थ राख्छ।

एउटा देशले कति सार्वजनिक ऋण थेग्न सक्छ भन्ने निर्धारण देशको आर्थिक र वित्तीय अवस्था, प्रतिव्यक्ति आय, सरकारको बजेटमा भएको प्राथमिकता, राजस्व संकलनको अवस्था, सरकारले गर्न सक्ने विकास खर्चको क्षमता र समग्र अर्थतन्त्रको अवस्थाले गर्छ । विभिन्न अन्तर्राष्ट्रिय निकायले ऋण कति दिन हुन्छ  र कति दिनु हुन्न भन्ने निश्चित मापदण्ड तोकेका छन् र तिनै मापदण्ड भित्र रहेर नै ऋण उपलब्ध गराएका हुन्छन्।

केही अर्थशास्त्रीका विचारमा नेपालले जीडीपीको ५०-६० प्रतिशतसम्म सार्वजनिक ऋण लिँदा पनि डराउनु पर्दैन । नेपालले ऋण लिने त अझै ठूलो ठाउँ छ। अहिले नेपालको  जीडीपी करिब ३७ खर्ब हुँदा हामी करिब २३ खर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउन मिल्छ भन्ने कुरा गर्छन्। तर मेरो विचारमा ऋणको प्रतिशत र तथ्याङ्कभन्दा पनि यसको उचित प्रयोगमा जोड दिन सक्नुपर्छ। जति सार्वजनिक ऋण उठाएर खर्च धान्न सजिलो छ त्यति यसको उचित प्रयोग र व्यवस्थापन गर्न सरकारलाई ठूलो चुनौती पनि छ। यदि सार्वजनिक ऋण देशले थेग्न सक्ने जति छ र सहि सदुपयोग हुन्छ भने त्यो ऋण देश विकासको मेरुदण्ड हुनेछ। यदि त्यै ऋण थेग्न सक्ने भन्दा धेरै भो भने सिङ्गो राष्ट्र सहित सबै नागरिकको दीर्घकालीन बोझ बन्नेछ ।

यदि हामीले ऋण लिएर संघीयता कार्यान्वयन गर्न प्रशासनिक खर्च गर्ने, ऋणबाट कर्मचारीको तलब, पेन्सन, सरकारी गाडी, सरकारी भवन, सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने, जस्ता काम हुन थाले भने जिडीपीको ५०% हैन १०% सार्वजनिक ऋण उठाउनु पनि देशको लागि अहित हुनेछ । सार्वजनिक ऋण उठाएर चालू खर्च गर्ने हो भने यसले दिने आम्दानी शून्य भई देशले तिर्नुपर्ने वार्षिक साँवा व्याज तिर्ने क्षमता ह्रास भएर पुरानो ऋणको साँवा व्याज तिर्न नयाँ ऋण नै लिनुपर्ने अवस्था आई देश कालो सूचीमा पर्ने, थप ऋण प्राप्त गर्न असहज हुने जस्ता समस्या  देखापर्न सक्छन् ।

केही विकसित देशको सार्वजनिक ऋणको आकार हेर्ने भने त्यो देशको जिडीपीको २००% भन्दामाथि ऋण परिचालन गरेको देखिन्छ । जस्तै अहिले वर्ल्ड पपुलेसन रिभ्युका अनुसार जापान सबैभन्दा बढी राष्ट्रिय ऋण भएको देश हो र यहाँ जिडीपीको २३५.९ प्रतिशत ऋण छ । त्यसपछि ग्रिस १९१.२७ प्रतिशत, भेनेजुएला १६१.९९ प्रतिशत ऋणमा छ भने विश्वको मुख्य आर्थिक शक्तिको रुपमा रहेको अमेरिकाले पनि लगभग १५० प्रतिशतको हाराहारीमा ऋण परिचालन गरेको छ । हाम्रो छिमेकी देश विश्वको दोस्रो ठुलो शक्तिशाली अर्थतन्त्र भएको चीनमा सार्वजनिक ऋण जिडीपीको ५१.२१ प्रतिशत छ भने उता भारतीय केन्द्रिय बैंक अनुसार भारतले यो आर्थिक वर्षको अन्त्यसम्ममा जिडीपीको ७२.१ % अथवा १४७ ट्रिलियन भारतीय रुपैया बराबरको सार्वजनिक ऋण प्रयोग गरेको छ।

यी सबै देशको तथ्याङ्कलाई विश्लेषण गर्दा जुन देशमा बलियो भ्रष्टाचार रहित प्रशासन र दूरदर्शी राजनीतिज्ञ छन् ती देशको विकासको गति र ऋण परिचालन पनि तीव्र देखिन्छ । यी देशले ऋणको प्रयोग पूर्वाधार विकास, मानवीय क्षमता विकास र इनोभेसनमा गरेकोले देशको उत्पादनशीलता वृद्धि भई जीडीपी र निर्यातआकार उच्च छ, ठूला करदाता भएकोले सरकारको आम्दानीमा उल्लेख्य वृद्धि भई ऋण तिर्ने क्षमता उच्च छ र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष जस्ता विकास साझेदारले ठूलो लगानी गरेका छन् ।

नेपालमा पनि अहिलेसम्मको अनुभवमा पुरानो ऋण तिर्न नयाँ ऋण उठाउनु परेको छैन । सार्वजनिक ऋणले गर्दा आर्थतन्त्रका परिसूचकमा अस्थिरता आएको छैन। विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैंकले निर्धारण गरेका सार्वजनिक ऋणको दिगोपना मापनका सूचक पनि थ्रेसहोल्ड भित्रै रहेकाले ऋण परिचालनमा कुनै समस्या देखिएको छैन । तसर्थ सरकारले पारदर्शी रुपमा ऋण खर्च गर्ने क्षमता बढाउदै सरकारी ऋण लगानी विमानस्थल निर्माण, सडक निर्माण, कनेक्टिभिटीको विस्तार, पूर्वाधार विकास, मानव संसाधन विकास र इनोभेसन जस्ता विकासका काममा गर्न सक्यो भने त्यसले उत्पादन,रोजगारी सृजना गर्दै प्रतिव्यक्ति आय  बढाउन मद्दत पुग्छ, अन्तर्राष्ट्रिय दातृ निकायले गर्ने लगानी बढ्छ, अहिले ऋण र जिडीपीको ३७.७ % रहेको अनुपातलाई बढाएर १००% मा पनि पुर्याउन पनि सकिन्छ । संघीयताले विकास मागेको छ यसको लागि सरकारले भौतिक पूर्वाधारमा ठुलो लगानी गर्नुपर्ने भएको छ ।

कोभिड महामारीले विश्व अर्थव्यवस्था डामाडोल हुँदा नेपाल पनि अछुतो रहेन तसर्थ सार्वजनिक ऋण वृद्धि हुनु स्वभाविक हो । सार्वजनिक ऋणको विकल्प  भनेको नै करको दायरा बढाउनु हो। अहिलेको महामारीमा सबै व्यापार व्यवसाय संकटमा रहेकाले यो सम्भव नहुँदा  जनता सार्वजनिक ऋण बढ्यो भनेर त्रसित हुनुपर्दैन तर सरकारको लगानी पारदर्शिता र यसको उचित उपयोग र सरकारको खर्च गर्ने क्षमतामा  भने ध्यान जानु नितान्त जरुरी छ।

इमेल सम्पर्क: kanaujesabita@gmail.com

This article have been published in Lokaantar online newspaper on September 7,2020 ( भदौ २१, २०७७)

https://lokaantar.com/story/117356/2020/9/6/article 

 If you enjoyed this article, Please get email updates by subscribing in this bottom of the blog 

यदि तपाईंले यस लेखलाई मन पराउनु भयोभने,  कृपया ईमेल अपडेटहरू प्राप्त गर्नुहोस् ।


Sunday, August 2, 2020

भारतसँगको विनिमय दर पुनः मूल्यांकन गर्ने बेला आएको हो ?

नेपाल–भारत सीमा सम्बन्धमा देखिएको विवादले भूमि व्यवस्थापनमा मात्र होइन व्यापार, लगानी र रोजगारी लगायत सबै क्षेत्रमा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ ।

केही समय अघि भारतका मिडिया र पत्रपत्रिकाले फैलाएका धेरै भ्रामक समाचारको कारण नेपालमा भारतीय टिभी च्यानलहरूलाई बन्द गरियो । हालैमात्र कालापानी र लिपुलेक लगायत क्षेत्रमा नेपालीको प्रवेश निषेध गर्न गरेको भारतीय पत्राचार लगायतका कुराले पनि नेपाल भारत बीचको तिक्तता बढ्दै जाने संकेत गरेको छ । पछिल्लो समयमा भारतका मिडिया र पत्रपत्रिकाले फैलाएका भ्रामक समाचारको कारण नेपालमा भारतीय टिभी च्यानलहरूलाई बन्द गरियो । हालैमात्र कालापानी र लिपुलेक लगायत क्षेत्रमा नेपालीको प्रवेश निषेध गर्न गरेको भारतीय पत्राचार लगायतका कुराले पनि नेपाल भारतबीचको तिक्तता बढ्दै जाने संकेत गरेको छ ।

यसै सन्दर्भमा बेला बेलामा भारतीय रुपैयाँ र नेपाली रुपैयाँको स्थिर विनिमय दरमा परिवर्तन गर्ने विषयमा पनि कुरा उठ्ने गर्छन् जुन आगामी दिनहरूमा पनि नउठ्ला भन्न सकिदैन । केही नेपाली विज्ञहरूले पनि यो विषयमा आफ्नो धारणा प्रस्तुत गर्न थालेका छन्। 




यसै परिप्रेक्ष्यमा नेपाल–भारत स्थिर विनिमय दर परिवर्तन गर्न कति आवश्यक छ र परिवर्तन गर्दा नेपाललाई कस्तो असर पर्छ ?

नेपाल र भारतको व्यापार सम्बन्ध शताब्दीऔंदेखि छ । अन्तर्राष्ट्रिय व्यापारमा मुद्राको सटहीको आवश्यक पर्ने हुनाले विदेशी विनिमय दर कायम गर्नुपर्ने हुन्छ । नेपालमा केन्द्रीय बैंकको स्थापना हुनुपूर्व विक्रम संवत् २०१३ सालअघि नेपाली मुद्राको प्रचलन काठमाडौं लगायतका केही पहाडी क्षेत्रमा मात्र सीमित थियो र नेपालका अरु भूभागमा भारतीय रुपैयाँ चलनचल्तीमा रहेको थियो ।

विनिमय दर तोक्दा २–४ जना विज्ञको सल्लाहमा माग र पूर्तिको आधारमा तोकिन्थ्यो र विनिमय दर कतिबेला परिवर्तन हुन्छ भन्ने कसैले पूर्व अनुमान गर्न सक्दैनथ्यो । यस्तो किसिमको द्वय मुद्रा पद्धतिले गर्दा मौद्रिक नीति, विदेशी विनिमय नीति लगायतका अन्य आर्थिक नीति निर्माण र कार्यान्वयनमा कठिनाइ परेको र विनिमय दरमा देखिएको उतारचढाव नियन्त्रण गरी स्थिरता ल्याउने प्रयास स्वरुप नेपाल र भारत सरकारको सहमतिमा विक्रम संवत् २०१७ सालमा १०० भारुको स्थिर विनिमय दर १६० नेरु तोकियो ।

अन्य देशसँग पनि व्यापारिक सम्बन्ध, वैदेशिक रोजगारी र वैदेशिक लगानीको सम्बन्ध भएकाले भारत बाहेकका देशको पनि विनिमय दर आवश्यक हुने भएकाले ती विदेशी मुद्राको विनिमय दर कायम गर्दा भारतको मुद्राको अन्य देशसँगको विनिमयको आधारमा नै नेपाली मुद्राको अन्य मुद्रासँगको विनिमय दर तोकिन थाल्यो । जुन आजसम्म कायम छ ।

विक्रम संवत् २०२३ सालमा भारतले भारु अवमूल्यन गरेकाले नेपाली मुद्राको पनि भारतीय मुद्राको तुलनामा पुनः मुल्यांकन गरेर विनिमयदर रु. १०१.२५ भयो तर पछि अमेरिकी डलरसँगको विनिमय दरमा सामन्जस्यता ल्याउन नेपाली रुपैयाँ पुनः अवमूल्यन गरी २०२८ सालमा १०० भारुको १३९ नेरु हुने गरी दर कायम गरियो । यसैगरी धेरै पटक परिवर्तन गर्दागर्दा २०४९ माघमा पुनः १०० भारुको विनिमय दर १६० नेरु स्थिर हुने गरी कायम गरियो ।

किन भारतसँग विनिमय दर पेग (स्थिर) गरियो ?

२०१३ सालअघि नेपालमा नेपाली र भारतीय दुवै मुद्रा प्रचलनमा थिए । प्रत्येक दिन माग र पूर्तिका आधारमा २ मुद्राबीच विनिमय दर कायम गरिन्थ्यो ।

यसो गर्दा विनिमय दरमा अस्थिरता आएर नेपालको मुद्राको औचित्य कम हुँदै गयो, व्यापार तथा लगानीको प्रतिफल पनि अस्थिर भयो, अनावश्यक सट्टाबाजी (स्पेकुलेटिभ होर्डिङ) हुनाले दर धेरै तलमाथि हुने, बजारमा अनुचित प्रतिस्पर्धा र भारतसँग गैरकानूनी व्यापार फस्टाएर एक्सट्रनल सक (बाहिरी आघात) हुने सम्भावना बढी भएकाले भारतीय मुद्रासँग स्थिर विनिमय दरको आवश्यकता भयो । नेपालको अधिकांश झण्डै ९८ प्रतिशत व्यापार भारतसँग थियो र व्यापार विविधीकरण नभएको र सबै कुराको लागि भारतमा बढीभन्दा बढी भर पर्नुपर्ने भएकाले भारतसँग स्थिर विनिमयदर  कायम गरियो । 

अहिले नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को सदस्य भइसकेको छ । विभिन्न द्विपक्षीय र बहुपक्षीय व्यापार तथा लगानी सहमति गरिसकेको छ तर पनि व्यापार विविधीकरण भने भएको छैन । अहिले पनि झण्डै ६५ प्रतिशत आयात–निर्यात भारतसँगै छ । विदेशी लगानीको दृष्टिकोणमा पनि चीनपछि भारतको हिस्सा नै बढी छ । यो मात्र नभएर रोजगारीमा पनि धेरै भारतकै भर पर्नु परेको छ । यदि भारतसँग लचिलो विनिमय दर कायम गरेर माग–पूर्तिको आधारमा विनिमय दर कायम गर्ने हो भने पुनः नेपाली मुद्रा अवमूल्यन भएर अस्तित्व नै धरापमा पर्न सक्छ र सबैतिर अस्थिरता आउन सक्छ । त्यसकारण  नेपालको आर्थिक र राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दा तत्काल भारतसँग हामी खुला विनिमय दर प्रणाली अवलम्बन गर्न सकिने अवस्था देखिँदैन ।

भारतसँग स्थिर दर कायम गर्दा अहिलेको अवस्थामा फाइदा भए पनि नेपाल सरकारले धेरै मूल्य चुकाउनुपरेको छ । केन्द्रीय बैंकले नीति बनाउँदा स्वतन्त्र रुपमा मौद्रिक नीति बनाउन पाउँदैन । केन्द्रीय बैंक बजारमा रहेको मुद्राको अधिक माग र आपूर्तिलाई अवशोषित (एब्जर्व) गर्न तत्पर रहनुको साथै पर्याप्त विदेशी विनिमय सञ्चिति पनि रिजर्वको रूपमा कायम गर्नुपर्ने हुन्छ । यसले नेपाल राष्ट्र बैंकको बोझ पनि बढ्ने र निजी क्षेत्रले संसारमा भएको विनिमय दर परिवर्तन हुँदा आउने अवसरको फाइदा उठाउन पनि पाउँदैन ।

यति मात्र नभएर भारतको मुद्रा अमेरिकी डलरसँग अवमूल्यन हुँदा नेपालले पर्याप्त अमेरिकी डलर आम्दानी गर्दा पनि नेपाली रुपैयाँ अमेरिकी डलरसँग दिनप्रतिदिन अवमूल्यन भएको छ । यसले गर्दा नेपालले बाहिर पढ्न जाने, घुम्न जाने, औषधि उपचार गर्ने खर्च बढ्नुको साथै अरु देशबाट आयातित वस्तुको मूल्य पनि बढी तिर्नुपरेको छ । अर्कोतर्फ सरकारको बाह्य ऋणको भुक्तानीमा समेत नकारात्मक प्रभाव परेको छ ।

विनिमय दरमा खुला नीति लागू गर्ने त ? 

जबसम्म हामीले निर्यात बढाएर आयात प्रतिस्थापन गर्ने र विदेशी मुद्रा कमाउने बाटो रेमिट्यान्समा मात्र भर नपरी पर्यटन र व्यापार तथा लगानी सुनिश्चित गर्न सक्दैनौं, तबसम्म हामी विनिमय दरको भुक्तानी सन्तुलनको धारणा अनुसार लचिलो विनिमय दर पद्धति अवलम्बन गर्न असक्षम हुनेछौं ।

यसका लागि पहिलो कुरा ग्यास तथा पेट्रोलियम पदार्थ आयातलाई विद्युत्को उत्पादन र प्रयोगले विस्थापन गर्न सक्नुपर्छ, खाद्यान्न तथा औषधि उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ, प्रतिस्पर्धात्मक र तुलनात्मक लाभ भएको क्षेत्रको उत्पादन बढाइ निर्यातमा जोड दिने र जनसांख्यिक लाभांशको सही प्रयोग गर्दै आन्तरिक उत्पादनमा जोड दिनसक्यो भने मात्र हामी भारतसँगको स्थिर विनिमय दर हटाउन सक्षम हुनेछौं ।

जसको तयारीमा हामी अहिलेदेखि नै उत्तरदायित्वका साथ लाग्नुपर्ने हुन्छ ।

के अब विनिमय दर पुनः मूल्यांकन गर्ने बेला आएको हो ?

आजसम्म झण्डै २९ वर्ष भइसक्यो, हामीले भारु सय (१००) को नेरु (१६०) एक सय साठीको रुपमा प्रयोग गरेको । अर्थतन्त्रको आकार, व्यापारको स्थिति विदेशी मुद्रा आर्जन गर्ने स्रोतको परिवर्तन हुँदै गएको छ तर भारतसँगको विनिमय दर भने परिवर्तन गरिएको छैन । यसैकारणले नेपालका केही अर्थशास्त्रीले बेला–बेलामा विनिमय दर पुनः मूल्यांकन हुनुपर्ने आवाज उठाइरहेका छन्, अहिले भारतमा पनि यस चर्चाले महत्त्व पाएको छ ।

केही अर्थशास्त्रीले नेपाली मुद्रा भारतको मुद्रासँग अवमूल्यन गरेर स्थिर गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छन् । जस्तैः भारु सय (१००) बराबर नेरु (१७०) ) एक सय सत्तरी  हुनुपर्ने हुनसक्छ तर केहीले भने नेपाली रुपैयाँ बलियो भइसकेकाले यसको मूल्य बढाउनुपर्छ र भारु (१००) सय  बराबर नेरु (१५०) एक सय पचास बनाउनुपर्छ भनेका छन् । यसमा नेपाली रुपैयाँ के भइराखेको छ भन्ने यकिन गर्ने अनुसन्धान भने भएको छैन र यसमा आधिकारिक अध्ययन हुनु जरुरी छ ।

मेरो बुझाइमा विनिमय दर पुनः मूल्यांकन गर्ने बेला आएको हो तर अहिलेको विनिमय दरमा नेपाली मुद्रा अधिमूल्यन भएको छ । हामीले यसको अवमूल्यन गरेर पेग (स्थिर) गरिनुपर्छ । यदि हामीले अहिलेकै विनिमय दर कायम गरेर अघि बढ्ने हो भने नेपाली अर्थतन्त्र कमजोर हुनसक्छ । भारतीय सामान नेपालको आफ्नो उत्पादित सामान साथै अन्य देशबाट ल्याएको सामानभन्दा सस्तो पर्न जान्छ र भारतसँगको व्यापार घाटा अझ वृद्धि भएर जान्छ । भारतसँग अझै आश्रित हुनुपर्ने अवस्था आउँछ, जुन हाम्रो लागि सुखद क्षण हुँदै होइन । व्यापार विविधताको उद्देश्य हासिल गर्न र नेपाली उत्पादनको प्रयोग बढाउन पनि अवमूल्यन गरेर पेग गरिनुपर्छ ।
 
यही अधिमूल्यन भएको कारणले अन्य देशको मुद्रा सञ्चिति बेचेर भारतीय रुपैयाँ किन्ने र भारतबाट वस्तु आयात गर्ने व्यवस्था मिलाउनुपर्ने बाध्यता नेपाल राष्ट्र बैंकलाई परेको छ । अहिले कोरोनाको प्रभावले रेमिट्यान्सको स्रोत घट्ने, पर्यटन आम्दानी सुक्ने, निर्यातमा कमी, विदेशी लगानी र सहायतामा हुनसक्ने कमीले हामीसँग पर्याप्त विदेशी मुद्राको सञ्चिति नहुने संकेत देखिनसक्ने हुनाले राष्ट्र बैंकले अहिलेको स्थिर विनिमय दर कायम राख्न नसकि  अर्थतन्त्रमा गम्भीर संकट नआउला भन्न सकिँदैन ।

तसर्थ यी सबै सकारात्मक र नकारात्मक प्रभाव र नेपालको अर्थतन्त्रको आकारलाई मध्यनजर गर्दा नेपालले  अहिलेको स्थिर विनिमय दरलाई राजनीतिक तवरबाटै पुनः मूल्यांकनको पहल गरिनुपर्ने देखिन्छ ।

इमेल सम्पर्क: kanaujesabita@gmail.com

This article have been published in Lokaantar online newspaper on August 2, 2020 (  साउन १८, २०७७)


 If you enjoyed this article, Please get email updates by subscribing in this bottom of the blog 

यदि तपाईंले यस लेखलाई मन पराउनु भयोभने,  कृपया ईमेल अपडेटहरू प्राप्त गर्नुहोस् ।






Saturday, July 18, 2020

मौद्रिक नीति : कोरोनाप्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिन यी हुन् कर्जा क्षेत्रमा भएका मुख्य परिवर्तन

                                                        
                                                                                                                                                                 सविता कनौजे न्यौपाने

मौद्रिक नीति बृहत आर्थिक नीति मध्येको एक महत्वपूर्ण नीति हो जसले वित्तिय साधनहरुको विवेकपूर्ण प्रयोगलाइ प्रोत्साहित गर्दै मुलुकको आर्थिक समृद्धि र स्थायित्वमा कायम राख्न ठुलो भुमिका खेलेको हुन्छ। अर्थतन्त्रको माग र समष्टिगत आर्थिक परिसुचकलाइ मध्यनजर गरेर मौद्रिक लक्ष्य निर्धारण गर्दै नीतिगत उपकरणको परिचालन विवेकपूर्ण रुपमा गरेमा मात्र अर्थिक वृद्धि, स्थायित्व, स्रोत र साधनको दक्ष परिचालन र रोजगारी प्रबद्धनको लक्ष्य हासिल गर्दै मुलुकले झेलेका समस्या समाधान गर्न र मुलुकको आर्थिक विकासमा योगदान पुग्न सक्छ। ती सबै नीतिगत उपकरणहरु साधारण जनताले बुझ्ने खालका नभएपनि  प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा देश र जनता सबैको हितको लागि हुन्छन्। 


यो वर्षको बजेटले उत्पादन र रोजगारी बढाउने र नराम्ररी प्रभावित व्यवसायहरुका समस्यालाइ खुलेर सपोर्ट गर्न सकेको थिएन। चाहेअनुसारको राहत प्याकेज पाउन नसकेपछि ऋणमा चल्ने सबै व्यवसायहरुले मौद्रिक नीति कुरेर बसेका थिए। हिजो सार्वजनिक भएको मौद्रिक नीतिले भने सबै क्षेत्रको माग लाइ सम्बोधन गर्दै बढी राहत भने बैंकबाट ऋण लिएर उद्योग व्यवसाय चलाउने ऋणी लाई दिएको छ।

धेरै मानिसको भ्रम के छ भने मौद्रिक नीतिले पनि सरकारको बजेटले जस्तो सबै सर्वसाधारण जनतालाई प्रतक्ष्य सुविधा देओस्, बैंकहरुसंग धेरै पैसा छ त्यो हामीले सजिलै प्राप्त गर्न सक्नुपर्छ तर त्यो हुन सक्दैन किनकी बैंक पनि अरुजस्तै सेवा दिने व्यवसायनै हो। यसले पैसा बढि हुनेबाट निक्षेप लिएर लगानिको अभाव हुनेलाई ऋणको रुपमा दिएर  एउटा पुलको काम गरेको हुन्छ। मौद्रिक नीतिले त देशमा  उद्यम गर्न चाहानेलाई सहज वातावरण बनाइ देशको आर्थिक विकास र स्थायित्व कायम गर्न प्रतिवद्ध छ। राष्ट्र बैंक सबै आर्थिक क्षेत्रको अभिभावक भएको हुनाले मौद्रिक नीति मार्फत अर्थतन्त्रका सबै क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने नीति ल्यएको छ।

नेपाल उधोग वाणिज्य महासंघ, नेपाल उधोग परिसंघ लगायत निजि क्षेत्र सबैले मौद्रिक नीति चाहेअनुसारको आएको र अब कार्यान्वयन पक्षमा जोड दिनुपर्ने औल्याएका छन्। कोरोनाको मारमा परेर उठ्नै नसकिनेगरि थलिएका व्यवसायको मनोबल बढाएर राष्ट्र बैंकले यस विषम परिस्थितिमा उल्लेखनिय भूमिका खेलेको छ।

२०७७ जेठ अन्त्य सम्ममा नेपली अर्थतन्त्रमा सबै बैंक तथा वित्तिय संथाले गरेको कर्जा लगानि ३१७२ अर्व ९८  करोड रहेको छ। अहिले निजि क्षेत्रतर्फ को कर्जा वृद्धिको २०% टार्गेट राखेको छ भने वाणिज्य बैंकले अहिलेसम्म उत्पादनशिल कर्जा कम्तिमा २५% सम्म गर्नुपर्नेमा अव २०८१ को असार सम्ममा कृषि,पर्यटन र उर्जा गरि ४०% पुग्ने गरि लगानि गर्नु पर्ने विस्तारवादी नीति ल्याएको छ।

कृषि कर्जाः nकर्जा क्षेत्रमा मौद्रिक नीतिको पहिलो प्राथमिकता उत्पादनशिल क्षेत्रको कर्जा विस्तार रहेको छ। अब  देशको आर्थिक विकासको लागि कृषि,उर्जा र पर्यटन क्षेत्र पहिलो प्रथमिकता भएकोले यो क्षेत्रको लगानी बढाउन मौद्रिक नीतिले जोड दिएको छ। अहिले बाणिज्य बैंकले जम्मा कर्जाको १०% कृषिमा लगानि गर्नु पर्नेमा  २०८० को असार सम्ममा १५% पुर्याउनु पर्नेछ। कृषि ऋणपत्र, किसान क्रेडिटकार्ड, कृषि बैंक केन्द्रित कृषि कर्जा र तालिम लगायतका नीतिगत परिवर्तनले कृषि उत्पादन र रोजगारी बढाइ आत्मनिर्भर नेपाल बनाउन सहयोग पुग्नेछ। कृषिको लागि जग्गा एकिकरण र लिज सुरक्षणको व्यबस्था साथै फलफुल खेतिको लागि दिएने कर्जा खराव हुँदा गर्नुपर्ने प्रोभिजनिङमा सहुलियत दिएकोले बैंक पनि यस्तो कर्जा लगानिमा पछि हट्ने छैनन्।

उर्जा कर्जाः उर्जा क्षेत्रमा कम्तिमा १०% लगानि, उर्जा ऋणपत्र,यो क्षेत्रको कर्जाको व्याज पुजिकरण र बिद्यूत उत्पादन गरि निर्यात सुरु गर्ने कम्पनिलाई बेसरेट प्लस १% मा कर्जा प्रवाह जस्ता नीतिले  उर्जा क्षेत्रको कर्जा विस्तारमा सहयोग गर्ने छ र उर्जा उत्पादन र प्रयोगमा  वृद्धि भई पेट्रोलियम आयात न्युनहुने छ र बिद्यूत निर्यात बढ्ने छ।

पर्यटन कर्जाः यो कर्जा सहज उपलब्ध गराउने वातावरण मिलाई २०८१ को असार अन्त्य सम्ममा पर्यटन क्षेत्रको कर्जालगानी पनि १५% मा पुर्याउनु पर्ने व्यबस्था गरेको छ। यसले पर्यटन क्षेत्रमा सेवा सुबिधा बढि, पर्यटक आगमनको वृद्धिले विदेशी मुद्रा आर्जन देखि आन्तरिक पर्यटन फस्टाउने देखिन्छ। यो क्षेत्रमा दिने सहुलियत कर्जाको व्याज ५% हुनुपर्ने र  अति प्रभावित पर्यटन ब्यवसायिको कर्जाको किस्ता तिर्ने समय एक वर्ष सम्म सारिदिएकोले पर्यटन व्यवसायि यो प्रतिकुल अवस्थामा टिकेर पुन सञ्चालनमा आउनेछन् । यो राहतले पर्यटन क्षेत्रका व्यवसायिको ठुलो अपेक्षा पुरा भएको छ। 

सहुलियत कर्जाः यो मौद्रिक नीतिले सहुलियत कर्जा र पुनर्कर्जा लागि ठुलो प्याकज ल्याएको छ। २०७७ को जेठ अन्त्य सम्म करिब २९००० ऋणीले ५५ अर्ब सहुलियत कर्जा लिएका छन् र यसलाई अझ प्रभावकारी र सन्तुलित कार्यन्वयनको लागि यो मौद्रिक नीतिले प्रत्येक वाणिज्य बैंकको शाखाले कम्तिमा ५०० वा न्युनतममा १० प्रतिशाखा तोकिएको क्षेत्रमा ५% को व्याजदरमा उपलव्ध गाराउनु पर्ने व्यवस्था गरेको छ। यो  व्यवस्थाले बैंकको ऋणमा साना व्यवसायी र साधारण जनताको पहुँच पुग्नेछ र कर्जाको  असमान वितरण हट्नेछ।

पुनर्कर्जाः आर्थिक पुनरउत्थानको लागि ल्याइएको पुनरकर्जाको व्यवस्थाले निर्यात जन्य, रुग्ण र लघु घरेलु तथा साना उधोगले ३ देखि ५ प्रतिशत व्याजमा कर्जा पाउने छन्। सरकरले बजेटमा १०० अर्वको  पुनरकर्जा घोषणा गरेपछि नेपाल राष्ट्र बैंकले यसको लागि पुनरकर्जा कार्यविधि बनाएर लागुगर्ने तयारिमा छ। यो पुनरकर्जा पहिले त्यति प्रभावकारि नभएको र पहुचवालाले मात्र ठुलो रकम प्रयोग गरेकोले अहिले साना साना व्यवसायीले सजिलो तरिकाले पाउने गरि व्यवस्था गरेको छ।  यसले महामारिको कारण बन्दगर्ने अवस्थामा पुगेका उधोग व्यवसाय पनि रिव्याक हुन सक्नेछन् र देशको उत्पादन साथै निर्यात बढ्ने छ। पुनर्कर्जाको लागि १०० अर्बको कोष खडा गरिएको र आवश्यक परे बढाउने व्यवस्था गरिएकाले यो सत प्रतिशत प्रयोग गर्ने र कर्जा दुरुपयोग नगर्ने हो भने बजेटले लिएको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न सकिन्छ।  

साना तथा मझौला उधोग कर्जाः कोरोना प्रभावित पर्यटन,घरेलु साना तथा मझौला उधोग निरन्तरता दिन र अति प्रभावित क्षेत्रका कामदारको रोजगार गुमेकाले ती बेरोजगारलाई उधमशिलतामा लाग्न सरकारको ५० अर्बको कोष प्रयोग गरि ५% व्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिएकाले रोजगार गुमेकाहरुको आत्मवल बढ्नेछ तर यो स्किम प्रभावकारि बनाउन सम्बन्धित निकाय, बैंकले ठुलो भुमिका खेल्नुपर्छ। विगतमा पनि यस्ता खालका योजनाहरुको नआएका होइनन् तर कार्यन्वयन गर्न  बैंकले आनकानि गरेकोले प्रभावित क्षेत्रले अपेक्षित फाइदा लिन सकेका थिएनन्। आशा छ, अहिले आएका योजनाहरुको पूर्ण कार्यान्वयन हुनेछ। उधोग व्यवसाय पुनरउत्थानको लागि चालु पूँजी कर्जा लिएका ऋणीले थप २०% कर्जा पाउनेछन् र यस्ता कर्जको नविकरणको समय सिमा पनि बढइएको छ।

धेरै प्रभावित क्षेत्रको कर्जा व्यवस्थापनको लागि ग्रेस पिरेड ६ महिना देखि २ वर्ष सम्म थप्ने र कर्जा पुनरतालिकिकरण देखि व्याज पूँजीकरणको व्यवस्था  यो मौद्रिक नीतिले गरेको छ। यसले व्यवसाय सञ्चालनमा कर्जा प्रर्योग गर्नेलाइ सहजिकरण गरेको छ।

यो बेला उधोग व्यबसाय सञ्चालनमा नभएका र कर्जाको सावा व्याज तिर्न नसक्नेलाइ कम, मध्यम र अति प्रभावित क्षेत्र छुट्याएर २०७७ पुष मसान्त देखि २०७८ असार सम्म भुक्तानि दिने समय थपिएको छ र  डिमान्ड र क्यास कर्जाको नविकरणको लागि पनि २०७७ पुष सम्म समय थपिएको छ। यो अवधिसम्मा कर्जा वर्गिकरण गरि प्रोभिजनिङ गर्नुपर्ने छैन। यसले गर्दा कर्जा असुल नभएपनि बैंकको ब्यालेन्ससिटमा नराम्रो प्रभव देखिदैन र बैंक पनि लगानि गर्न उत्साहित हुनेछन्।

सेयर कर्जाः सेयर धितोमा दिने मार्जिन कर्जाको बिस्तारमा पनि नेपाल राष्ट्र बैंक केहि उदार देखिएको छ। मार्जिन कर्जाको सिमा ६५% बाट बढाएर ७०% मा पुर्याएको छ। यसको मतलव यदि ऋणीले रु.१०० बराबरको सेयर धितो राखेमा रु.६५ ऋण पाउनेमा अब त्यहि धितोमा रु.७० पाउन सक्छ र अर्कोतर्फ शेयरको मुल्याङ्कन गर्दा १८० दिनको औषत मुल्य व्यवस्थालाई घटाएर १२० दिन कायम गरिएको छ। यसले सेयर कर्जाको विस्तारमा सहयोग पुग्नेछ र सेयर मुल्य घटेर पिडामा भएका ठुला लगानिकर्ताले केहि राहत पाउनेछन्।

आवास कर्जाः उत्पादनशिल कर्जा मात्र नभएर व्यक्तिगत घर निर्माणको लागि पहिलो घर बनाउन निजि आवास कर्जा र सहरिविकासको लागि व्यवसायिक आवास आयोजनाले लिने कर्जामा कर्जा सुरक्षण मुल्य ६०% कायमा गरिने छ र यो कर्जाको अरु प्रावधान भने यथावत राखिएको छ।

लघुवित्तले प्रधान गर्ने कर्जाःयो मौद्रिक नीतिले घ वर्गका लघुवित्तले दिने न्युन वर्ग कर्जाको सिमा सात लाखबाट पन्ध्र लाख पुर्याइएको छ र कर्जा व्याज सिमा १५% भन्दा बढि नहुने गरि कर्जालगानि गर्न निर्देशित गरेको छ। लघुवित्तबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायिले भने प्रभावित भएकालागि मात्र ६ महिनासम्म किस्ता तिर्ने समय बढाइने छ।

निजिक्षेत्रका संगठन र ठुला व्यवसायीको दृष्टिकोणमा मौद्रिक नितिले निजि क्षेत्रका सबैजसो माग सम्बोधन गरेकोले आशा छ अर्थतन्त्र भि आकारको रिकभरिमा जानेछ। कोरोनाकालको विस्तारवादि मौद्रिक नीतिले ऋणी, उधोग व्यवसायिको मात्र संरक्षण नभएर महामारिको प्रभावको चपेटामा परेका बैंकको ब्यवसाय जोगाउनको लागि पनि धेरै नीतिगत छुट दिएको छ जस्तै प्रोभिजनिङमा सहुलियत, स्प्रेडदरको व्यवस्था खारेज, निक्षेप संकलनमा दिने व्याजदरको सिलिङ हटाउनु, सिसिडि ८०% बाट ८५% मा बढाउनु आदि । यस्ता नीतिगत सहुलियतले गर्दा व्यवसायि मात्र नभएर बैंकहरु पनि मौद्रिक नीतिप्रति सकारात्मक छन्। आशा गरौ दक्ष गभर्नर र राष्ट्र बैंकको नेतृत्वमा आएको मौद्रिक नीतिले निर्देशित गरे अनुसारको कार्यान्वयन पक्षमा बैंकहरुले प्रभावकारी भूमिका खेल्नेछन् र जसमा हामि सबै सरोकार वालाहरुको सहयोग रहनुपर्छ।

इमेल सम्पर्क: kanaujesabita@gmail.com

This article have been published in Lokaantar on July 19,2020 ( साउन ४,२०७७)

 
If you enjoyed this article, Please get email updates by subscribing in this bottom of the blog (It’s Free)

यदि तपाईंले यस लेखलाई मन पराउनु भयोभने,  कृपया ईमेल अपडेटहरू प्राप्त गर्नुहोस् (यो नि: शुल्क हो)।



Wednesday, July 15, 2020

My Home Town

 

Can't wait to visit my home town (as I feel a connection with the soil ) to reclaim my space with nature  as soon as #Covid_19 pandemic ends. Missing #nature #ecosystem #Gulmi #Nepal 


Sunday, July 5, 2020

मौद्रिक नीतिमा कृषि क्षेत्रलाई सम्बोधन : गर्नैपर्ने यी १५ काम


अब नेपालमा अर्थतन्त्र अगाडि बढाउन सकिने आधार भनेको नै कृषि हो।कृषि पेशा नेपालमा कम नाफामुलक, बढी   जोखिम र कम सम्मानित पेसाको रुपमा हेरिने भएकोले जोसिला युवा पुस्ताको आकर्षण कम देखिन्छ । तर विश्वव्यापी महामारीले गर्दा सधैं भन्दा भिन्न तरिकाले अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने समय आएकाले बृहत आर्थिक नीतिमध्ये वित्तीय नीति र मौद्रिक नीतिका औजारहरूमा केही हेरफेर गरी समयको माग अनुसार कृषिलाई सम्बोधन गर्नु आवश्यक छ ।

२०७७\७८ को वित्तीय नीति/बजेट नेपाल सरकारले जेठ १५ गते नै ल्याइसकेको छ र सबै स्थानीय  तहले पनि सोही   अनुसार बजेट विनियोजन गरिसकेका छन्। यसमा  संघीय, प्रादेशिकका साथै धेरैजसो स्थानीय  सरकारले कृषिलाई नै रोजगारी सिर्जना र आत्मनिर्भरको क्षेत्र मानेर केही न केही सहुलियतको कार्यक्रम घोषणा गरेका छन्।

अब बजेटको लक्ष्य अनुसारका कार्यक्रमलाई मध्यनजर गरेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन सरोकारवालाहरूसँग सुझाव मागेर स्वयम् बृहत तयारी गरिरहेको छ,जुन प्रशंसनीय छ।



७%  आर्थिक वृद्धिसहित सात लाख रोजगारी सिर्जना गर्ने बजेटको महत्वकाङ्क्षी लक्ष्यलाई भेट्टाउन नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले उत्पादनशील क्षेत्रतर्फको लगानीमा विस्तार गर्नुपर्ने हुन्छ । यसमा पहिलो प्राथमिकतामा कृषि  क्षेत्रलाई   बैंक तथा वित्तीय संस्थासँग जोडेर नेपालको लागि आवश्यक पर्ने खाद्यान्न, तरकारी, फलफूल, मासु, दूध, दलहन, तेलहन बाली लगायत सबै कृषि उत्पादन तथा प्रशोधनदेखि कोल्डस्टोरेज र बजारीकरणसम्मको व्यवस्थामा सहजीकरण हुने गरी नयाँ बैंकिङ प्रोडक्ट ल्याउन प्रोत्साहन मौद्रिक नीतिले लिनुपर्ने देखिन्छ।

झन्डै ६०.४% जनता आबद्ध भएको कृषि क्षेत्र आर्थिक समृद्धि हासिल गर्ने मूल आधार हुँदा पनि कृषिको योगदान १५औं योजनालाई आधार मान्दा कूल ग्राहस्थ उत्पादन (जीडीपी) २७% मात्र छ । यसलाई बढावा दिन र कृषिमा क्रान्ति गरेर रोजगारीको समस्या समाधान गर्न अब कृषिमा बैंकको व्यवस्थित लगानीको आवश्यकता देखिन्छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नेपालका बैंक तथा वित्तीय संस्थालाई आफ्नो लगानीको १०% लगानी कृषि क्षेत्रमा गर्नुपर्ने थ्रेसहोल्ड पहिलेदेखि नै बनाएको छ तर यो कार्यान्वयन गर्न भने कठिनाई भइरहेको बैंकहरू बताउँछन् । यो लगानी अझ वृद्धि गर्नुपर्ने बेला हालसम्म बैंकको जम्मा कर्जाको ८.५% को हाराहारीमा मात्र बजारमा कृषि कर्जा गएको छ। कृषि कर्जाको माग बजारमा बढी भएपनि कम लगानी हुनुको कारण बैंकहरूको कृषितर्फ गरिने लगानीमा हुने हिचकिचाहट  र डकुमेन्टेसनमा गरिएको कडाइ नै मान्न सकिन्छ।

केही दिन अगाडि म नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राको आईएमएस ग्रुपले कृषिमा लगानी गर्न खोजेको विचार पढ्ने अवसर पाएको  थिए। उहाँले भन्नुभएको थियो ठूला उद्योगपति, व्यापारी   कृषिमा लागे भने बैंकहरूको लगानी सुरक्षित हुन्छ र बैंकले लगानी गर्छन्। अब आईएमएस ग्रुपले पनि कृषिमा ठुलो लगानी गर्न खोजेको उहाँले भन्नुभएको छ । यस्तै चौधरी ग्रुप, खेतान समूहलगायतका ठुला व्यापारिक घरानाहरूले पनि यसतर्फ सोचेर कृषि लगानीमा जोड दिने हो भने युवाहरू पनि  कृषिमा आकर्षित हुनेछन् र कृषि क्रान्ति गर्न समय लाग्दैन। जसले कृषि आयातलाई प्रतिस्थापन गर्दै निर्यात बढाएर बाह्य सन्तुलन साथै गरिबी र बेरोजगारीको समस्या पनि समाधान हुनेछ।

अर्कोतर्फ विदेशबाट फर्केर कृषिमा लाग्न खोजेका युवालाई दिइने सहुलियत ऋण र अनुदानको अनुचित प्रयोग हटाउन पनि नेपाल राष्ट्र बैंकले गृहकार्य गर्नुपर्छ । म आफू नै व्यवसायिक कृषक परिवारबाट आएकीले कृषकले भोग्नुपरेका समस्या र तिनीहरूको आवश्यकता, कृषि ऋण लिन जाँदाको भोगाइ नजिकबाट नियाल्ने अवसर पाएकी छु । बैंकिङ क्षेत्रमा नै काम गरेको अनुभवको आधारमा बैंकरको दृष्टिकोणमा कृषि लगानी प्रतिको अवधारणा र समस्या पनि बुझेकी छु । यसै क्रममा केही समय पहिले कृषिमा चासो भएकोले म काठमाडौंमा रहेका तीन/चार वटा कृषि फार्ममा गएर पनि सामान्य कृषकले बैंकमा जाँदा भोगेका भोगाई र गुनासाको संकलन गरेकी थिएँ । यसको आधारमा नै म बैंक र कृषकको बीचमा रहेको खाडल हटाउनको लागि नेपाल राष्ट्र बैंकले कृषिमा सम्बोधन कसरी गर्न सक्छ र मौद्रिक नीतिले कृषि क्षेत्रमा के कस्ता समस्याको सम्बोधन गर्‍यो भने नेपालको कृषिमा वास्तविक क्रान्ति हुन्छ भनेर मैले आफ्नो अनुभवबाट देखे भोगेका कुराहरू समेटेर यो सुझाव दिँदैछु ।

१. १०० अर्बको रिफाइनान्स र बैंकको प्रत्येक शाखाबाट सहुलियत कर्जा दिनुपर्ने प्रावधान बजेटमा घोषणा गरेको छ तर केही प्रतिशत कृषिको लागि जानै पर्ने र प्रत्येक शाखाबाट १० वटा सहुलियत कर्जा दिनुपर्नेमा कम्तिमा पनि कृषक २५% अथवा ४ जना हुनुपर्छ भन्ने प्रावधान मौद्रिक नीतिले ल्याउने हो भने कृषकले सहजै ऋण प्राप्त गर्छन् र कृषिमा बैंकको लगानी पनि बढ्छ।

२. नेपाल राष्ट्र बैंकका सबै सुपरिवेक्षण विभागहरूमा कृषिलगायतका उत्पादनमुलक क्षेत्रको लगानी प्रवद्र्धन र अनुगमन गर्ने गरी छुट्टै कमिटी बनाएर सुक्ष्म निगरानी र यसको प्रभावकारिताबारे पेरियोडिक अध्ययन गरेर कृषिमा गएको कर्जा टार्गेटेड कृषकमा गए नगएको सुनिश्चित गर्ने व्यवस्था मिलाउने हो भने कृषि कर्जामा प्रभावकारिता आउने थियो ।

३. कृषिमा नयाँ प्रविधि भित्र्याउन सहयोग गर्नको लागि कृषि सामग्री खरिद गर्न खोलिने एलसीमा नीतिगत छुट दिनुको साथै नयाँ प्राविधिक उपकरण प्रयोग गर्ने किसानले लिने ऋणमा व्याज सहुलियत दिने व्यवस्था हुने हो भने कृषिमा आधुनिकीकरण भई उत्पादकत्व बढ्ने थियो। यसका लागि सरकारका अन्य निकायले कृषकलाई प्रदान गर्ने अनुदानलाई बैंकमार्फत ब्याज अनुदान दिन उपयुक्त देखिन्छ।

४. कृषि ब्याज अनुदानको दुरुपयोग रोक्न बजेटले घोषणा गरेको किसान क्रेडिट कार्ड (केसीसी) मोडल मार्फत मात्र ब्याज अनुदानका लागि योग्यलाई कर्जा  उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाउन स्पष्ट कार्यदिशा तयार गर्ने हो भने वास्तविक किसानले फाइदा लिन थाल्नेछन्।

५. बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने खर्चको केही प्रतिशत न्यून आय भएका किसानहरूलाई मल, बीउ, कृषि औजार, तालिम, व्यवसायिक साक्षरता आदिमा खर्च गर्न सक्ने व्यवस्था गरिएमा साना किसानहरू लाभान्वित हुन सक्दछन् ।

६. सरकारले चीनमा जस्तो कृषि सम्बन्धी विभिन्न पक्षहरूको विश्लेषण गर्न राज्य कृषि कर्जा ग्यारेन्टी एलायन्स कम्पनी खोलेर यस्ता कम्पनीहरूले कृषि व्यवसायीहरूको योजनालाई प्राविधिक, आर्थिक र बजारको सम्भाव्यतालगायतका पक्षहरूको विश्लेषण गरी प्रतिवेदन तयार गर्ने र सोको आधारमा बैंक तथा वित्तीय संस्थाहरूले समेत अध्ययन गरी कृषि कर्जा लगानी विस्तार गर्न सकिन्छ र यसकै सिफारिसमा बैंकले कर्जा प्रवाह गर्ने व्यवस्था गर्‍यो भने  ग्रामीण सहकारी, गाउँ र शहर तहको बैंकसँग कर्जा जोखिम बाँडफाँड गरी साना कृषि व्यवसाय र किसानहरूलाई कम ब्याजमा बैंकबाट कर्जा लिन सहयोग पुग्ने छ र बैंकको जोखिम कम हुने भएकोले बैंकले कृषि लगानी बढाउने छन्।

७. भूमिहीन र आफ्नो स्वामित्वमा धितो राख्ने जग्गा नभएका किसानलाई उनीहरूको व्यवसायको प्राविधिक विश्लेषण र परियोजना बमोजिम परियोजना धितोमा कर्जा दिने व्यवस्था गर्ने र बिनाधितो सहुलियत कर्जाको लिमिट परियोजना अनुसार बढाइदिने हो भने लगानी अभाव भएका युवाको पनि कृषिमा आकर्षण बढ्ने थियो ।

८. नेपालमा वाणिज्य बैंक, बिकास बैंक, कृषि विकास बैंक,फाइनान्स साथै माइक्रो फाइनान्सले गर्ने कार्यमा समेत भिन्नता नभएकोले कृषिमा मात्र लगानी गर्न एउटा विशेष बैंक खोल्ने र सबै बैंकले गर्नुपर्ने न्यूनतम कृषि लगानी पनि विशेष बैंक मार्फत नै गर्ने व्यवस्था भयो भने लगानी   को प्रभावकारिता बढ्ने थियो।

९. अर्कोतर्फ सरकारी स्वामित्व भएका बैंकको समेत कृषिमा लगानी न्यून छ तसर्थ १० % कृषिमा गर्नै पर्ने लगानी बढाएर २०% बनाउने र ठुला बैंक सबै पिछडिएको क्षेत्रमा जान नसके सरकारले छुट्टै संयन्त्र तयार गरी लगानी वातावरण बनाइदिने हो भने कृषिमा आकर्षण बढ्नेछ।

१०. कृषि लगानीको लागि परियोजना मूल्याङ्कन गर्न बैंकमा कृषिमा विज्ञता भएको जनशक्ति राख्नै पर्ने व्यवस्था हुने हो भने कृषि कर्जाको गुणस्तर बढ्नेछ।

११. नेपालमा साना किसानको सङ्ख्या धेरै भएकोले कर्जा प्रवाह गर्दा ठूलो व्यवसायिक फर्मलाई मात्र हेरेर नीति नबनाई सानो सानो कर्जामा धेरै सुविधा दिंदै साना किसानलाई मध्यनजर गर्ने हो भने धेरै साना किसान लाभान्वित हुनेछन् ।

१२. कृषिमा गरेको कर्जा लगानीमा नीतिगत छुट दिने व्यवस्था हुनुपर्यो। जस्तै कृषि कर्जामा प्रोभिजनिङ गर्दा केही छुट गरिदिने र सीसीडी क्याल्कुलेट गर्दा कृषि कर्जा समाबेश नगर्ने ब्यवस्था भयो भने बैंक पनि यो क्षेत्रमा लगानी बढाउन आकर्षित हुनेछन्।

१३. उत्पादनशील भूमिको पूर्ण सदुपयोग गर्नको लागि उत्पादनशील क्षेत्रमा हुने प्लटिंगको लागि कर्जा उपलब्ध नगराउने व्यवस्था हुनुपर्छ र नेपाल सरकारले भूमि बैंकको अवधारणा कार्यान्वन गर्ने संयन्त्र छिटो तयार गर्नुपर्छ ।

१४. नेपालमा कृषि ऋणको दायरा बढाएर बैंकले प्रत्येक स्थानीय  तहमा अनिवार्य तोकिएको रकम लगानी गर्नुपर्ने र कृषकलाई कृषि ऋणको उपलब्धता र डकुमेन्टेसनमा सहयोगको लागि छुट्टै निकायको व्यवस्था गर्ने हो  भने वास्तविक साना किसानको समस्या समाधान हुनेछन् ।

१५. कृषि विषय लिएर पढ्ने विद्यार्थीको लागि सहुलियत कर्जा नीति ल्याई प्रयाप्त मोराटोरियम पिरेयड उपलब्ध गराउँदा कृषि क्षेत्रमा दक्ष जनशक्तिको उत्पादन हुनेछ ।

नेपालमा कृषिलाई प्राथमिकता दिई यसमा आत्मनिर्भर बन्नको लागि नेपाल सरकार र नेपाल राष्ट्र बैंक मिलेर माथि दिएका सुझावहरू क्रमश: कार्यान्वयन गर्न सक्ने हो भने हामी कृषिमा वास्तविक क्रान्ति नै गरेर गरिबी र बेरोजगारीको समस्या धेरै हदसम्म समाधान गर्न सफल हुनेछौँ ।

(kanaujesabita@gmail.com)
 
यो लेख मिति  असार २१, २०७७ (July 5th, 2020) गते लोकान्तर दैनिकमा छापिएको छ।https://lokaantar.com/story/112107/2020/7/5/monetary-policy
 

If you enjoyed this article, Please get email updates (It’s Free)

यदि तपाईंले यस लेखलाई मन पराउनु भयोभने,  कृपया ईमेल अपडेटहरू प्राप्त गर्नुहोस् (यो नि: शुल्क हो)।


Thursday, June 25, 2020

एक बैंकरको नजरमा बजेट : कति समयानुकूल, कति चुनौतीपूर्ण ?

अस्ति जेठ १३ गते निकालिएको आर्थिक सर्वेक्षण अनुसार यो आर्थिक वर्ष २०७६/०७७ कुल बजेटको ५१  प्रतिशत मात्रैखर्चभएको छ र राजस्व लक्ष्यको ५७ प्रतिशत असुल भएको छ । ८.५% को आर्थिक वृद्धिको लक्ष्य राखेकोमा २.३% मात्र हासिल हुने अनुमान छ । यो सबै प्रभावकारी नदेखिनुमा कोरोना संकट मात्र भन्दा पनि सरकारको महत्त्वाकांक्षी र लोकप्रिय नीतिका कारण हुन्।
विगतको इतिहास हेर्दा वास्तविकभन्दा पनि लोकप्रिय र महत्त्वाकांक्षी बजेट ल्याउने र प्रभावकारी कार्यन्वयन हुन नसकी न सोचेको जति बजेट खर्च गर्न सकियो, न अनुमानअनुसार राजस्व संकलन गर्न सकियो।

आर्थिक वर्ष २०७७/०७८  को बजेट कोभिड-१९ को संकटको असर कम गर्ने गरी स्थानीय, प्रादेशिक र संघीय व्यवस्थालाई मजबुत पार्दै कोरोनाले तहसनहस पारेको अर्थतन्त्र बचाउँदै अर्थतन्त्रको संरचनामै परिवर्तन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणको प्रस्थानबिन्दु होस् भन्ने आमचाहना छ । आशा छ, विद्वान् अर्थमन्त्रीले ल्याएको बजेट कोभिड संकटको मानवीय र आर्थिक घाटा कम गरी इतिहासको पानामा सम्झनलायक हुनेछ।



बजेटको लक्ष्य र संरचना


आउने आर्थिक वर्षको बजेटले मुख्यत: यो महाव्याधिबाट नागरिकको जीवन रक्षा गरी जनजीवनलाई सहज र सुरक्षित बनाउनका लागि उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्दै नागरिकका मौलिक हक सुनिश्चित गर्ने, आर्थिक पुनरुउत्थान गर्ने र आगामी वर्ष ७% को आर्थिक वृद्धिसहित मुद्रास्फिर्ति ७% भित्रै कायम गर्ने लक्ष्य लिएको छ।

बजेटमा सरकारको आगामी वर्षमा कुन–कुन क्षेत्रमा कति खर्च गर्ने र त्यो खर्चका लागि आम्दानीको स्रोत के हुने भन्ने स्पष्ट खाका आकलन गरिएको हुन्छ ।

सामान्यतया बजेट खर्च चालू, पूँजिगत र वित्तीय गरी ३ भागमा बाँडिएको हुन्छ । त्यसभित्र पनि चालू खर्चले देशको नियमित कामकारवाही लगायत प्रशासनिक खर्चलाई समेटेको हुन्छ । पूँजीगत खर्च भने विकासका लागि र विशेष गरी आर्थिक पूर्वाधार निर्माणका लागि छुट्याउने गरिन्छ । वित्तीय व्यवस्थापनको शीर्षकमा भने सरकारले  लिएको सावाँ र ब्याज भुक्तानीका लागि रकम व्यवस्था गरिन्छ ।

हिजो आएको कुल १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमध्ये चालू खर्चमा ९ खर्ब ४८ अर्ब ६४ करोड (६४.४%), पूँजीगत अन्तर्गत ३ खर्ब ५२ अर्ब ३१ करोड(२३.९%) र वित्तीय खर्चमा १ खर्ब ७२ अर्ब(११.७%) बिनियोजन गरियो ।

जुन गत वर्षको तुलानामा झन्डै ५८ अर्ब ३२ करोडले कम हो । हाम्रो नेपाल सरकारको बजेटको इतिहास हेर्दा विकास खर्च जम्मा बजेटको २५% को हाराहारीमै हुने गरेको छ । तर हाम्रो जस्तो कम विकसित मुलुकमा चालू खर्चभन्दा पनि पूँजीगत खर्चलाई बढाएर अर्थतन्त्रलाई उकास्नु जरुरी छ।

पोहोर साल पूँजीगत खर्च २६% रहेको थियो  तर अहिले केही घटेको छ। तर देशको विकास नै गरेर आर्थिक उन्नति गर्ने हो भने पूँजीगत खर्चलाई बढाएर कार्यन्वयन गर्नुपर्ने देखिन्छ। महत्त्वाकांक्षी र लोकप्रिय बजेट ल्याउनुभन्दा सानो र कार्यन्वयनमुखी हुनु जरुरी छ।

राजस्व तथा आय     

स्रोत व्यवस्थापनतर्फ राजस्वको अनुमान ८ खर्ब ८९ अर्ब ६२ करोड गरिएको छ जसले चालू खर्च पनि पूर्ति गर्न सक्ने देखाउँदैन । धेरै अर्थशास्त्रीको विश्लेषणमा भने कम्तिमा पनि सरकारको आम्दानीले चालू खर्च पूर्ति गर्न सक्नुपर्छ।

तर नेपालमा यो अनुमानित राजस्व पनि संकलन गर्न नसकेर अर्धवार्षिक समीक्षामा संशोधन गर्नुपर्ने हुन्छ, जुन अर्थतन्त्रका लागि राम्रो संकेत होइन । यसका लागि सरकारले करको दायर बढाउँदै राजस्व चुहावट रोक्न नयाँ प्रविधि प्रयोग गरी अनावश्यक राजनैतिक संरक्षण हटाउनु पर्ने देखिन्छ।

अर्कातर्फ वैदेशिक अनुदान ६० अर्ब ५२ करोड र वैदेशिक ऋण २ खर्ब ९९ अर्ब ५० करोड ल्याउने अनुमान गरिएको छ । यो पनि सरकारलाई चुनौतीको विषय हो।

यो संकटका बेला सजिलै र निशर्त ऋण तथा अनुदान पाउनु एमसीसी पास गराउनुजस्तै चुनैतीपूर्ण हुनेछ। सबै विकासका साझेदारहरूले शसर्त र आश्रित बनाउने तरिकाले नै सहयोग गर्न खोजिरहेका हुन्छन्, त्यसैले आन्तरिक रूपमै बलियो बन्ने बाटो खोज्नु अवश्यक छ । मलाई लाग्छ, हाम्रो सबै विकास बजेट उधारो नै हो ।

यो संकटको बेलामा बजारमा तरलता अभाव हुन सक्ने र आन्तरिक ऋण २ खर्ब २५ अर्ब उठाउन सरकारलाई सहज हुने म देख्दिनँ । बरु तिर्नुपर्ने बाह्य र आन्तरिक ऋणको समयावधि बढाएर स्रोत परिचालन गरेको भए उपयुक्त हुने थियो ।

बजेटमा उल्लेख गरिएका मुख्य विषय

विशेषत: यो बजेट स्वास्थ्य संकटमा परेको मानवीय र आर्थिक क्षतिलाई कम गर्नेतर्फ केन्द्रित हुनुपर्ने भएकाले स्वस्थ्य, रोजगारी, कृषि र आन्तरिक उत्पादनको वृद्धि मुख्य विषय बनेका छन् । यी क्षेत्रमा केही नयाँ कार्यक्रम थपिएपनि पूर्वाधार विकास, सामाजिक सुरक्षा, शहरी विकास, महिला बालबालिका, खानेपानी र युवा तथा खेलकुदमा भने पहिलेकै कार्यक्रम दोहोरिएका छन्।

यसो हेर्दा खासै नयाँ र ठूला कार्यक्रम नदेखिए पनि यो बजेटले अर्थतन्त्रका सबै क्षेत्रहरूलाई समावेश गराएर माग सम्बोधन गरेको छ । मेरो विचारमा बजेट २०७७/०७८ मा प्रत्येक क्षेत्रमा सानो भएपनि एउटा राम्रो कार्यक्रम ल्याएको छ तर पूर्णता दिन भने सकेको छैन । बजेट २०७७/०७८ लाई निम्न बुँदामा विश्लेषण गरेकी छु ।

– स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीलाई दिने प्रोत्साहन भत्ता र स्वास्थ्य बिमा, स्याटेलाइट र टेलेमेडिसिन स्वास्थ्य सेवा, प्रमुख नाकामा स्वास्थ्य शिविर र कोरोनाका लागि उच्च प्राथमिकता सरहानीय छन् तर महामारी नियन्त्रण गर्ने ठोस कार्यक्रम चाहिँ उल्लेख भएको छैन।

– राहत कार्यक्रममा विद्युतमा छूट, ब्याज र ऋण सहुलियत जस्ता कुराले प्राइभेट व्यवसायलाई प्राथमिकता दिएपनि असंगठित क्षेत्रमा रोजगारी गुमाएका, घर बहालमा बस्ने र विद्यार्थीका लागि कुनै राहत देखिएन ।

– श्रम र रोजगारमा श्रम स्विकृति नलिई नेपालमा विदेशीले काम गर्न नपाउने, बैंक तथा वित्तीय संस्थाले प्रतिशाखा १० जनालाई सहुलियत ऋण उपलब्ध गराउने व्यवस्था सरहानीय छ तर विदेशबाट फर्कने ठूलो जनशक्तिलाई कसरी व्यवस्थापन गर्ने ठोस कार्यक्रम आएको छैन।

– सामाजिक सुरक्षामा पुरानै कार्यक्रम दोहोरिए पनि भूमिहीनलाई बासको व्यवस्था गरिने र सडक मानवमुक्त गर्ने त राम्रो भो तर जातीयता र छुवाछुतले निम्त्याउने द्वन्द्व व्यवस्थापन गर्ने चेतना तालिमले मात्र समाधान नहुने देखिन्छ।

– कृषि र खाध्यान्नमा आत्मनिर्भर बनाउने त भनियो तर युवालाई कृषिमा लाग्ने मनोबल उच्च हुने कार्यक्रम, कृषिमा लाग्न आवश्यक आधुनिक कृषि तालिम र बजारको सुनिश्चतता गर्नुपर्‍यो सरकार, विचरा बैंकको ऋण के हो थाहा नपाउने साना किसानलाई केको किसान क्रेडिट कार्ड ? विदेशबाट आयतित सबै नीति र कार्यक्रम हाम्रो संरचनामा फिट नहुन सक्छ सरकार ।

– स्थानीय सरकारले भूमि व्यवस्था गरी कृषिलाई भूमिप्रधान गर्ने भूमि बैंकको अवधारणा चाहिँ राम्रो छ कार्यन्वयन हुनुपर्‍यो र यो राजनीतिक कार्यकर्ताको कार्यक्रम नबनी वास्तविक भूमिहीन कृषकको समस्या समाधान हुनुपर्छ।

– धेरै प्रभावित पर्यटन उद्योगको लागि कर छूट र ब्याज अनुदान राम्रो छ तर घरभाडामा लिएर ठूलो होटल/व्यवसाय चलाउनेलाई यो पर्याप्त नहुन सक्छ ।

– अहिले सबैतिर मितव्ययी हुनुपर्ने बेला सरकारले सरकारी कर्मचारीको भत्ता तथा सुविधा यो वर्षलाई कटाएर राम्रो गरेको त छ, तर जनआवाज सांसद विकास कोषको विपक्षमा देखिँदादेखिँदै जनअपेक्षा लत्याएर ठूलो रकम सांसद विकास कोषमा दिएर कार्यकर्ता पोस्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

– शिक्षालाई उच्च प्राथमिकतामा राखी शैक्षिक सुधार र शिक्षामा १७.४३ अर्बको बजेट लगायत थप नयाँ विश्वविद्यालय खोल्ने घोषणा त गरियो तर विद्यमान विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर प्रमाणपत्र लिई बेरोजगार भई बसेकाहरूको रोजगारी सुनिश्चित गर्ने ठोस योजना चाहिँ खोई सरकार ?

बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार  गरिएको छ, जसमा थप  २ लाख  रोजगारी सिर्जना गर्ने गरी ११ अर्ब ६० करोड बजेट बिनियोजन  गरिएको छ तर विगतमा यो कार्यक्रम केबल झाराटराइमा सीमित हुने गरेकोमा अब भने प्रभावकारी हुन जरुरी छ ।

– प्रत्येक स्थानीय तहमा महिला उधमशीलता सहजीकरण केन्द्र खोलिने र सबै प्रदेशमा युवा प्रमोसन केन्द्र खोलिनेलगायत धेरै कार्यक्रम प्रशंसायोग्य छन्, तर यसको पूर्ण कार्यान्वयन हुन स्पष्ट कार्यविधि प्रभावकारी रूपमा आउनुपर्छ ।

आर्थिक विकास नै देशको समग्र विकासको मेरुदन्ड हो र आर्थिक विकासका लागि आर्थिक अनुशासन पालना गर्नुपर्छ । जसका लागि आर्थिक नीतिलाई पारदर्शी, व्यवस्थित र वास्तविक बनाउनु अपरिहार्य हुन्छ ।

नेपालको संविधान २०७२ ले जेठ १५ गते नै बजेट प्रस्तुत गरी आर्थिक पद्दतिलाई चलायमान बनाउन सरकार लागि परेको परिप्रेक्षमा अब बजेट निकासा दिन र कार्यन्वयन गर्न ढिला नहोस् भनि बजेटलाई प्रभवकारी रूपले कार्यान्वयनमा ल्याउन कोरोना महामारीले अझै केही समय चुनौती दिनसक्छ, जसमा ७ % आर्थिक वृद्धि महत्त्वाकांक्षी हुने देखिए पनि बजेट समयसापेक्ष वास्तविक नै छ । 

This article have been published in Lokaantar on  Jestha 16, 2077.http://www.lokaantar.com/story/109230/2020/5/29/analysis

If you enjoyed this article, Please get email updates (It’s Free)

यदि तपाईंले यस लेखलाई मन पराउनु भयोभने,  कृपया ईमेल अपडेटहरू प्राप्त गर्नुहोस् (यो नि: शुल्क हो)।


बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनमा कोरोनाको प्रभाव


बैंक अर्थव्यवस्थाको केन्द्रमा रहेर हरेक क्षेत्रका व्यक्ति र निगमलाई आर्थिक सहयोग प्रदान गर्ने हुनाले बैंकमा जोखिमहरुको उचित व्यवस्थापन गर्न नसक्दा बैंकमात्र नभएर अर्थतन्त्रका सबै क्षेत्रहरु उत्तिकै प्रभावित हुन्छन् । बैंकका कारण धेरै व्यापार व्यवसाय स्थापित र चलयमान भएका छन् । राम्रो प्रगति गरिरहेका छन्  । त्यसैले यो क्षेत्रलाई अर्थतन्त्रको  मियोको रुपमा हेरिन्छ । 

कोभिड-१९ महामारीले विश्वलाई कठिन नवप्रवर्तन शुरुवाती परिस्थितिमा ल्याएको अवस्थामा बैंक तथा वित्तीय क्षेत्र पनि नराम्रोसँग प्रभावित हुने देखिन्छ जसमा नेपालको बैंक तथा वित्तीय क्षेत्र पनि अछुतो छैन । साढे दुई महिनादेखिको  लकडाउनले आर्थिक-सामाजिक जीवनमा परेको प्रतिकूल प्रभाव गहिरिंदै गएको छ । उद्योग–व्यवसाय र विभिन्न व्यवसायिक प्रतिष्ठानहरु पनि धराशायी बन्ने अवस्था आएको छैन भन्न सकिन्न । 

व्यवसायीहरु बैंकलाई सामाजिक संजाल र पत्रपत्रिकामार्फत विभिन्न प्रश्नहरु गरिरहेका छन् । लकडाउनले सबै व्यवसाय बन्द हुँदा व्यवसाय संचालनका लागि लिइएको ऋणको व्याज कसरी तिर्ने ? धेरै मुनाफा कमाउने बैंकले बन्दभरको किस्ता छुट दिदा के नै फरक पर्छ होला र ?  जस्ता आममानिस तथा व्यवसायीमा जिज्ञासापुर्ण प्रश्नका भारीहरु छरपष्ट भएका छन् ।




बैंकहरुका पनि आफ्नै चुनौतिहरु छन् । झन्डै ८०-९० प्रतिशत कोष सर्वसाधारणको निक्षेपबाट लिएर शेयरहोल्डरहरु १०-१५% मात्रको पुँजी लगानी गरेर बैंक चलाएका हुन्छन् । यता ऋणको व्याज असुलीमा समस्या हुने बित्तिकै निक्षेपकर्तालाई व्याज भुक्तानी दिन  गाह्रो पर्न थाल्छ । धेरै ऋणको किस्ता असुली नभएको बेलामा पनि उता निक्षेपकर्तालाई व्याज भुक्तानी समयमानै गर्नुपर्ने हुन्छ । एकदिन पनि निक्षेपको व्याज दिन ढिलाई गर्दा प्रतिष्ठा जोखिम हुने र बैंकहरुले आफ्ना ग्राहकको मन जित्न गाह्रो हुन्छ ।

निक्षेपकर्ताहरुको स्वार्थ बैंकले बढीभन्दा बढी व्याज देओस् भन्ने हुन्छ । उता ऋणीहरुको स्वार्थ न्यूनतम व्याजमा ऋण पाइयोस् भन्ने हुन्छ । बैंकको आम्दानी भन्नु नै कर्जामा लिइने व्याज तथा निक्षेपमा प्रदान गरिने व्याजको अन्तर (स्प्रेड) तथा विभिन्न किसिमका गैर–कोषीय आम्दानीहरु हुन् । यी आम्दानीबाट नै बैंकले आफ्नो अन्य संचालन खर्चहरु समेत जुटाउनुपर्ने हुन्छ । अर्कोतर्फ लगानीकर्ताहरुले निश्चित प्रतिशत प्रतिफलको आशा गरेका हुन्छन् । यदि बैंकले चित्तबुझ्दो प्रतिफल दिन नसके लगानीकर्ताले आफ्नो लगानी फिर्ता लिएर अन्य ठाउँमा लान सक्छन् ।  

उता नियमकारी निकाय नेपाल राष्ट्र बैंकको सुक्ष्म व्यवस्थापनमा स्प्रेड दर, निक्षेपको व्याजदर लगाम, तोकिएको क्षेत्रमा कर्जा र पूंजी पर्याप्ततालगायत धेरै नियम पालना गर्नुपर्ने भएकाले बैंकले आफू बाचेर व्यवसाय अनि आफ्ना ग्राहक बचाउनु अहिलेको अवस्था निकै चुनौतिपुर्ण छ । 

यससहित बैंकिङ व्यवसायले नाफा बढाउन कर्जा जोखिम, सञ्चालन जोखिम, तरलता जोखिम, बजार जोखिम इत्यादि जोखिमहरु वहन गर्नुपर्ने हुन्छ । 

वित्तिय संथामा जोखिम लिनु अन्तरनिहित तत्व हो तर अप्रत्याशित संकटले बैंकहरूको प्रभावकारिता र जोखिम व्यवस्थापन फ्रेमवर्क वरपर प्रश्नहरू पनि खडा गर्दछ । अहिले  मुख्यत: कर्जा जोखिम, सञ्चालन जोखिम र तरलता जोखिम व्यवस्थापनमा कोभिडको ठुलो प्रभाव परेको छ ।

कर्जा जोखिम

कोभिडको पहिलो प्रभाव कर्जा जोखिमको व्यवस्थापनमा परेको छ । लामो लकडाउन र बन्द आम्दानीको कारणले ऋणीले कर्जा लिंदाको बखत बैंकसँग गरेको सम्झौता बमोजिम साँवा तथा व्याज बुझाउन सक्ने अवस्था छैन जसले बैंकको वासलातमा नराम्रो असर गरी खराब कर्जाको मात्रा बढाउँछ ।

अहिले यो संकट आएकाले नेपाल राष्ट्र बैंकले ऋणीलाई किस्ता तिर्ने क्षमता नभएको मध्यनजर गर्दै किस्ता तिर्ने समय तिन महिना पर सारेको छ । मलाइ लाग्छ समय थप्दै जानु भनेको समस्यालाई पर सार्नु मात्र हो । यसले लामो समय काम गर्दैन । हामीले समस्यालाई समाधान गर्नेतिर नगएर खाली यसलाई समय मात्र थपिरह्यौं भने भविष्यमा समस्याहरु 'क्युमिलेट' (एक ढिक्का) मात्र हुन्छ र बैंकसँग कर्जा जोखिम बहन गर्ने क्षमता ह्रास हुन्छ ।

अर्कोतर्फ व्यवसायीहरु व्याज छुटलगायतका सहुलियत मागिरहेको बेला राष्ट्र बैंकले मर्का नपरेका र परेकालाई एउटै बास्केटमा हालेर होलसेलमा राहत प्याकेज ल्याएको छ । राहत भनेको मर्का पर्नेलाई दिने हो । जसलाई सबैभन्दा धेरै मर्का पर्यो  उसलाई धेरै राहत दिनु पर्छ । तर राष्ट्र बैंकको नीतिका कारण जसले सजिलै व्याज तिर्न सक्थे उनीहरुले पनि तिरेनन् । सबैलाई यस्तो छुट दिँदा बैंकहरुको वासलातलाई नराम्रो प्रभाव पर्ने र कर्जा जोखिम बढ्ने देखिन्छ । राष्ट्र बैंकले ल्याएको राहत प्याकेज ब्लाङ्केटरी भयो यसलाई पुनरावलोकन गरिनुपर्छ जसले ऋणीलाइ मात्र नभई बैंकलाइ पनि बचाउन सकारात्मक सहयोग  पुग्नेछ ।

बैंकहरुले पनि भविष्यमा आउन सक्ने नसोचेका संकटलाई मध्यनजर गरेर नियामक निकायले दिएका निर्देशनसहित आन्तरिक जोखिम व्यवस्थापन नीति बलियो बनाउनुपर्ने हुन्छ । पोर्टफोलियो व्यवस्थापन, लोन इभरग्रिनिङ, वित्तीय विवरणहरुमा विश्वसनियताको कमी र ऋणीको कर्जा चुक्ता गर्नसक्ने क्षमता भन्दा पनि धितो सुरक्षणले बढी प्राथमिकता पाएको जस्ता समस्याले कर्जा क्षेत्रको जोखिम बढि हुने देखिन्छ । यसका लागि सक्रिय रूपमा सम्भावित असुरक्षित र अस्वस्थ अभ्यास पत्ता लगाई सुधार गर्नुपर्छ जसले नसोचेको संकटले निम्त्याउने जोखिम कम गर्न सकिन्छ ।

सञ्चालन जोखिम 

अकल्पनीय घटना र संकट, व्यवसाय सञ्चालनमा संलग्न मानवीय पक्षहरुको कमी कमजोरी, प्रविधिको व्यापक प्रयोगले ल्याउने गडबढी र नीतिगत विचलनको कारणले बेहोर्नुपर्ने नोक्सानलाई सञ्चालन जोखिमको रुपमा लिइन्छ ।
कोभिड महाब्याधीले सबै क्षेत्रको काम गर्ने वातावरण नै परिवर्तन गरिदिएको छ । एक व्यक्तिको अर्को व्यक्तिसंगको भेटघाट नै  त्रासपुर्ण भएको बेलामा पनि बैंकरहरु सेवा प्रवाहमा लाग्नै पर्ने बाध्यता छ। यसका लागि कार्यालय सञ्चालनको लागि मनोवैज्ञानिक प्रतिरोधको कारण कर्मचारी अनुपस्थिति बढ्न सक्छ यी सबैले मानव संसाधन व्यवस्थापनमा थप चुनौतीहरू पनि ल्याउनेछ । 

कर्मचारीहरुले घरैबाट काम गर्नुपर्ने अवस्था आएको छ । यसको लागि बैंकहरुले नयाँ सफ्टवेयरको प्रयोग बढाई धेरै इलेक्ट्रोनिक बैंकिङ, कार्ड बैंकिङ, मोबाइल बैंकिङ लगायतका विद्युतिय माध्यमबाट हुने प्राविधिक कारोबार बढाउनुपर्ने देखिन्छ । एकातर्फ कर्मचारीलाई घरबाट काम गर्ने वातावरण मिलाउदा प्राइभेसी नहुने र अर्कोतर्फ नयाँ टेक्नोलोजीको प्रयोग गर्दा बैंकको सञ्चालन जोखिम बढ्ने हुन्छ । तसर्थ संकटको बेला अगाडि रहेर काम गर्ने कर्मचारीको छनोट र जिम्मेवारी बाँडफाँडमा विशेष ध्यान दिदै नियामक कार्य र बैंक  सञ्चालनमा लचिलोपन अपनाउनु जरुरी देखिन्छ । 

तरलता जोखिम 

बैंकहरुको तरलता जोखिम व्यवस्थापनमा कोभिडले थप चुनौति थपेको छ । ऋण तिर्ने समय पछी सारिएको र बचत निकाल्ने दर बढेको तर  निक्षेपमा व्याज समयमा दिनुपर्ने र नयाँ निक्षेप संकलन धेरै नहुने भएकोले तरलताको समस्या हुने देखिन्छ । यो महामारी लम्बिंदै जाने हो भने बैंकले आफ्नो दायित्व पूरा गर्न रकम जुटाउन नसक्ने वा जुटाउँदा अस्वभाविक दस्तुर तिर्नुपर्ने अवस्था आउन सक्छ। जसले तरलता जोखिम वृद्धि गराउँछ । 

अर्कोतर्फ, कर्जा लगानी हाल प्राय ठप्प रहेकाले लगानीयोग्य पूँजी पनि बैंकसँग यसै रहिरहेको छ । यसले गर्दा बैंकले ठूलो मात्रामा अपरच्युनिटी लस व्यहोर्नु पर्ने अवस्था छ । यो पनि अधिक तरलताको जोखिमको अवस्था हो । यसलाई व्यवस्थापन गरी नोक्सान कम गर्न पनि राष्ट्र बैंकको उचित नितिको आवश्यक छ।

तरलता अभाव कम गर्नको लागि कोरोना सङ्क्रमण पछी बैंकले आफ्नो निक्षेपको ४% नेपाल राष्ट्र बैंकको खातामा नगद रिजर्भ अनुपातको रुपमा राख्नु पर्नेमा ३% मा झारेको छ । यसले तरलता अभावलाइ केही राहत मिलेपनि यतिमात्रले लामो समयसम्मको समस्या समाधान गर्दैन । बैंकले तरलता मापन सूचकहरू नियमित कम भइरहेको छ भने कुनै पनि तरलताको कमीको आकार र प्रभाव निर्धारण गर्न बैंकहरुबाटै विश्लेषण गरिनु पर्दछ । 

अन्त्यमा, विभिन्न तरिकाले नियमकारी निकाय र सरकारले राहत दिएपनि बैंकहरुले आन्तरिकरुपमा जोखिम व्यवस्थापनको लागि विशेष रणनैतिक कदम चाल्नुपर्ने हुन्छ । संकटको समयमा ग्राहकको विश्वास कायम गर्न र वित्तीय प्रणालीको स्थिरता सुनिश्चित गर्न छोटो, मध्यम र विभिन्न दीर्घकालीन प्रभाव आँकलन गरी जोखिम न्यूनीकरण विधिको परिवर्तनमा ध्यान जानु नितान्त आवश्यक छ ।  

यो संकटको बेला अनुसन्धानमा निपुर्ण वरिष्ठ अधिकारीहरूले बजारको डरलाई कम गर्न, कर्मचारी अनुपस्थितिलाई कम गर्न र बजारको उपस्थिति कायम राख्दै सेवाको गुणस्तर बढाउने र नोक्सान कम गर्न व्यवसायिक कार्यहरू, कर्मचारी स्वास्थ्य, पोर्टफोलियो र कर्जा असुलीमा समन्वय गर्दै समयको आवश्यकता अनुसार बैंकिङ प्रोडक्ट पुनः डिजाइन गर्नु आवश्यक देखिन्छ । 


If you enjoyed this article, Please get email updates (It’s Free)

यदि तपाईंले यस लेखलाई मन पराउनु भयोभने,  कृपया ईमेल अपडेटहरू प्राप्त गर्नुहोस् (यो नि: शुल्क हो)।


Thursday, May 28, 2020

कोभिड– १९ महाव्याधि : अर्थतन्त्रका लागि चुनौतीसँगै अवसर पनि !

नेपालको अर्थतन्त्र मिश्रित  खालको र मध्यमार्गीरुपमा अगाडि बढिरहेको छ। एकदमै उत्साहजनक पनि छैन र निराशाजनक पनि छैन । अबको दिन राम्रो हुन्छ कि भन्ने संकेतहरू देखापरेको बेला यो कोभिड- १९ ले अर्थतन्त्रमा नयाँ खालको चुनौती थपिदिएको छ ।


देशमा आएको नयाँ राजनैतिक संरचना र स्थायित्वको अवस्था, कृषि उत्पादनमा देखिएको सकारात्मक संकेत, उद्योग तथा सेवा क्षेत्रको विस्तार, भौतिक संरचनाको निर्माण गति, संघीयताले गर्दा सरकारको सेवा प्रवाहमा चुस्तता र जनताको बढ्दो चेतनाको स्तर आदि कुराले गर्दा देशको आर्थिक परिवेश सकारात्मकतातर्फ उन्मुख भएको आभाष मिल्न थालेको बेला कोभिड- १९ को महामारिले मानविय साथै आर्थिक जोखिम उत्पन्न गराएको छ ।



कोरोनाअघिको आर्थिक स्थिति

विगत १० वर्षको औसत आर्थिक वृद्धि ४.३% को वरिपरि रहेको थियो जसमा २०७२-७३ मा विनाशकारी भूकम्प र भारतले गरेको सिमानाका अवरोधले गर्दा २०७२-७३ को आर्थिक वृद्धि ०.२ % मात्र भएको थयो।

त्यसपछिको वर्षमा भने राजनैतिक स्थायित्व र मौसम अनुकुलताले गर्दा लगानीको सहज वातावरण बनेको थियो । आन्तरिक उत्पादनस्तर बढ्न थालेको, उर्जा समस्या केही हदसम्म समाधानउन्मुख रहेको र व्यापार सहजिकरणका प्रयासले गर्दा लगातार तीन आर्थिक वर्षमा ६.९४%,७.२% र ६.८% को वृद्धिदर हासिल गर्न सफल भयौं । 

२०७६/७७ मा ८.५%  वृद्धिको अनुमान गरेका थियौ। गरिवि र बेरोजगार दर घटेको थियो । बाह्य पर्यटक आगमन र आन्तरिक पर्यटन पनि सन्तोषजनक थियो। तर पुननिर्माणको सामान र उत्पादनको लागि कच्चा पदार्थको आयातले गर्दा व्यापारघाटा भने बढ्दो क्रममै थियो ।

देशको वास्तविक क्षेत्र मात्र नभएर मौद्रिक क्षेत्रमा पनि धेरै सकारात्मक सुधार हुँदै थिए । बैंक तथा बित्तीय संस्थाको पहुँच लगभग सबै स्थानिय तहमा पुग्ने क्रममा थियो । वित्तीय साक्षरता ६०% जनतामा पुगेको र बिधुतिय कारोबार पनि बढेको थियो ।

विदेशी मुद्राको सन्चिती झन्डै आठ महिनाको भन्दा बढिको आयात धान्न सक्ने थियो । बैंकको ऋण प्रवाह बढ्दो क्रममा रहेकाले निजी क्षेत्रको बिस्तार र उत्पादकत्व पनि सन्तोषजनक नै थियो । उत्पादक क्षेत्रको जस्तै जलविद्युत, पर्यटन, कृषि, साना तथा मझौला उद्योगतर्फको ऋण विस्तार हुँदै थियो । तर विश्वव्यापी महामारीका कारण ठप्प आर्थिक गतिविधिका कारण सबै क्षेत्र नराम्ररी प्रभावित भएका छन् ।

सरकारको आर्थिक वृद्धिको प्रक्षेपण पनि उल्लेखनीय रूपमा घटाएको छ । सरकारले मंगलवार निकालेको आर्थिक सर्बेक्षण अनुसार चालु वर्षको आर्थिक वृद्धि २.३% हुने अनुमान गरिएको छ।

कोरोनाको चुनौती नेपाली अर्थतन्त्रमा

कोभिड- १९ बाट सिर्जित विश्व आर्थिक परिदृष्य सन् १९३० को महामन्दीपछिकै कहालिलाग्दो हुन सक्ने अनुमान धेरै अर्थशास्त्रीहरूले गरिसकेका छन् । विश्व बैंकले कोरोना भाइरस महामारीका कारण दक्षिण एसियामा अरू देशको तुलनामा नेपालमा नराम्रो गिरावट आउने आँकलन गरिसकेको छ । यो ठूलो चुनौती सामना गर्न अर्थतन्त्रका सबै क्षेत्रले समान रुपमा सहयोग गर्नुपर्ने हुन्छ ।

यसको नकारात्मक प्रभाव एक/दुई वर्ष मात्र नभएर लामो समय सम्म झेल्नुपर्ने हुन्छ । वर्तमान अवस्थामा देखिएका मुख्य चुनौतीका क्षेत्रहरूमा सबैभन्दा बढी सेवा क्षेत्र देखिएको छ । पर्यटन व्यबसाय र रेमिट्यान्स आगमनमा ठूलो घाटा बेहोर्नु पेरेको छ । नेपालको बाह्यक्षेत्र सन्तुलनमा वैदेशिक रोजगारीले ठूलो भुमिका खेलेको छ ।

झन्डै चालिस/पैंतालिस लाख युवा रोजगारीको सिलसिलामा बिदेसिएका छन् र रेमिट्यान्स जिडिपि को २४-२५% रहेको छ। तर अब अवस्था भिन्न हुने छ, वैदेशिक रोजगारीको ग्लोबल मार्केट पनि अब केही समय यस अघिको जस्तो सहज नहुने स्पष्ट भैसकेको छ र जसले ठूलो संख्यामा वैदेशिक रोजगारीमा गएकाहरू अब नेपाल फर्कनेछन् ।

वैदेशिक लगानी भित्रिने क्रम पनि अब केही सुस्त हुनेछ । रेमिटेन्स र वैदेशिक लगानीको आप्रवाह कम हुँदा नेपालले भुक्तानी असन्तुलन (ब्यालेन्स अफ पेमेन्ट)को समस्या पनि भोग्नुपर्ने हुन सक्छ । नेपाल सरकारले विदेशबाट फर्कने युवाका लागि छुट्टै ठोस योजना बनाएर उत्पादनमा लगाउनु पनि चुनौतीपूर्ण छ ।

नेपालमा झन्डै ७६% घरपरिवारले रेमिटेन्स प्राप्त गर्ने गरेका छन् रेमिटेन्समा असर पर्नेबित्तिकै ती घरपरिवारलको दैनिकि नै प्रभाव पर्नेछ र नागरिकको जीवन थप कष्टकर बन्दै जानेछ । रेमिटेन्सको आगमन कम भएपछि बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकारमा पनि प्रभाव पार्नेछ ।  पर्यटन, यातायात, पूर्वाधार र अनौपचारिक क्षेत्रमा गरी धेरै नागरिकले रोजगारी गुमाईसकेका छन् । कोरोनाले धेरै नागरिकलाई गरीबीको रेखामुनि लैजाने सम्भावना छ । सरकारलाई बेरोजगारी, गरीबी र भोकमरीको डरलाग्दो स्थितिबाट पार लगाउनु पनि ठूलो चुनौती छ ।

सरकारलाई आम्दानीको स्रोत जुटाउन र खर्चको प्राथमिकता निर्धारण गर्न त्यति सहज छैन । स्वास्थ्य र खद्यान्न वितरणमा नै धेरै बजेट खर्च गर्नुपर्ने देखिएको बेला सरकारले पुरानै आयोजनालाई निरन्तरता र बितरणमुखि बजेट ल्याउने योजना र निति प्रस्तुत गरेको छ । यसले तत्काल महामारिको समस्या समाधान गर्ने देखिँदैन । सरकारको बिकास बजेट खर्च गर्ने क्षमता सामान्य अवस्थामा पनि नाजुक नै थियो अझ यस महामारिको कारण प्रमुख निर्माण क्षेत्रका कामले पनि अहिले गति लिन सकिरहेका छैनन् । राष्ट्रिय गौरवका आयोजनाहरूमा पनि ढिलाई भएकाले त्यसको लागत पनि अब बढ्ने देखिन्छ ।

सरकारसँग यतिबेला गौरवका आयोजनाहरूका लागि नै पनि स्रोत जुटाउनु ठूलो चुनौती छ । सारा विश्वनै महामारिले नराम्ररी प्रभाबित भयको बेला बाह्य सहायता तथा ऋण मार्फत स्रोत जुटाउन पनि त्यति सजिलो देखिदैन । आन्तरिक उत्पादन र आयात निर्यात व्यापार  सहजता नभएकाले राजश्व संकलन, आन्तरिक ऋण उठाउन पनि धौ-धौ छ। तसर्थ गर्नैपर्ने खर्चलाई मुख्य केन्द्रमा राखेर खर्चको स्पष्ट कार्यविधि बनाएर अगाडि बढ्नु पर्ने देखिन्छ।

बेरोजगार व्यवस्थापनको चुनौती पनि सरकारको अर्को ठूलो पाटो रहेको छ । नेपालमै रहेका र अनौपचारिक क्षेत्रमा काम गर्ने लाखौं कामदारको जागिर गुमिसकेको छ । प्रत्येक वर्ष झन्डै पाँच लाखको हाराहारीमा नयाँ कामदार नेपाली बजारमा भित्रिने गरेको बिगतको तथ्याङ्कले देखाउछ । यी सबै नेपालमै रहेकाको रोजगार जोगाउनु र सुनिस्चित गर्नु पनि सरकारलाई चुनौती हुन्छ । अझै वैदेशिक रोजगारी गुमाएर नेपाल फर्कनेको व्यवस्थापन गर्नु त धेरै कठिन छ तर असम्भव भने छैन । यसको व्यवस्थापनका लागि सरकारको ठूलो योजना र रणनीति भने हुनैपर्छ ।

वित्तीय क्षेत्रमा आउन सक्ने अस्थिरता व्यवस्थापन गर्नु पनि अर्को ठूलो चुनौती हो । आक्रामक ढंगले कर्जा विस्तार गरेका बैंकहरूकोले जोखिम व्यवस्थापन चुनौतीपूर्ण छ । नेपाली बैंकले झन्डै ३२ खर्ब कर्जा बजारमा प्रवाह गरेका छन् । कोभिड १९ महामारीले उत्पादन ठप्प भएको र आम्दानीका स्रोत बन्द भएकाले ऋणीले किस्ता तिर्न गाह्रो हुने देखिएको छ ।

यसले कर्जा जोखिम वृद्धि हुने, निक्षेपको ब्याज तिर्नुपर्ने भएकाले बैंकको वासलात र आम्दान विवरणमा ठूलो असर हुने देखिन्छ । शेयर बजार पनि नराम्ररी प्रभावित भएको छ । करोडौंको शेयर ऋण लिएर कारोवार गर्नेहरू देखि सानो सानो लाई शेयरमा लगानी गर्नेहरू पनि पछुताउनु पर्ने बेला आइसकेको छ । अझ यो लकडाउन ८-१० महिना लम्बिने स्थिति आयो भने वित्तीय क्षेत्रमा ठूलो संकट आएर बित्तीय संस्था टाट पल्टने अवस्था हुन्छ ।

केन्द्रिय बैंकको नीतिले मात्र नभएर यसको लागि सरकारले बेलआउट गरेर बचाउनुपर्ने अवस्था आउन सक्छ । यसको लागि सरकार तयारी अवस्थामा बस्नु पर्ने देखिन्छ ।

विदेशी विनिमय सञ्चिती जोगाउन पनि चुनौती छ र यसको लागी अब छुट्टै रणनीतिको आवश्यकता पर्छ । पहिले जस्तो रेमिट्यान्समा भर परेर बस्न सकिने अवस्था अब पक्कै नहुने सङ्केत देखिसकिएका छन् । धेरै देशले त सरकारलाई आफ्नो नागरिक फर्काउनु भनी अनुरोध पनि गरिसकेको अवस्था छ । तसर्थ रेमिट्यान्स घट्ने सुनिश्चितता भएकाले यसको बिकल्प खोज्नु जरुरी देखिन्छ । पर्यटन आम्दानीबाट विदेशी मुद्रा आर्जन गर्न पनि कोरोना साम्य भएको  दुई वर्षसम्म गाह्रो हुन्छ । मानिसमा यसको डर केही समय रहिरहन सक्ने हुनाले पर्यटन क्षेत्र रिव्याक गर्नु पनि चुनौती नै रहन्छ । तसर्थ सरकारले आन्तरिक उत्पादनलाई जोड दिई निर्यात प्रर्वद्धन र आयात प्रतिस्थापनतर्फ ध्यान दिनु जरुरी छ। यसको लागि सरकार र नेपाल राष्ट्र बैंक मिलेर स्टिमुलस प्याकेज ल्याउनुपर्छ ।

संरचना परिवर्तन गर्ने अवसर

जतिसुकै अप्ठ्यारो परिस्थिती वा विपतको अवस्थाले पनि केही न केही राम्रो पक्ष ल्याएकै हुन्छ । हुन त कोभिड १९ महामारीका कम राम्रा र धेरै नराम्रा पक्ष होलान् तर हामी ती नराम्रा पक्ष भन्दा पनि राम्रो के गर्न सकिन्छ त भन्ने सोच्न सक्नु पर्छ । यो महामारीले व्यक्ति, परिवार , समाज, सिङ्गो देश र विश्वलाई नै फरक ढङ्गले सोच्न र जिउन बाध्य बनाएको छ । विपतले  नै पहिला नसोचेका, गर्न नभ्याएका वा चाहेर पनि गर्न नपाएका कामहरू भिन्न शैलीमा गर्ने मौका दिएको छ ।  त्योसँगै यो महामारीले हामीलाई के अवसर दिँदै छ, त्यसको पहिचान गरी उपयोग गर्न अब ढिलो गर्नु हुँदैन ।

प्रत्येक व्यक्तिको जीवनशैली परिवर्तन भएको छ, सधैं दौडधुपमा रहने व्यक्ति परिवारसँग आनन्दले बस्न पाएको छ । आफ्नो सिर्जना र क्षमताको उजागर गर्न र अब आउने दिनको कार्ययोजना बनाई अघि बढ्न सुनौलो अवसर दिएको छ तर मध्यम र उच्च जीवनशैली भएका बाहेक दैनिक मजदूरीमा जिबिकोपार्जन गर्नेको लागि भने गुजारा चलाउनै मुस्किल परेको छ । यस्तो वर्गको लागि सरकारले सोच्नै पर्ने हुन्छ ।

डिजिटल कार्यशैलीले ल्याउने चुस्तता र पारदर्शिता पनि हाम्रो लागि सु-शासन ल्याउने राम्रो अवसर हो । केही निजी संस्था र केही सरकारी निकायहरूले पनि इलोक्ट्रोनिक माध्यमबाटै सेवा प्रदान गर्नुपर्ने बाध्यता आएको छ । यो कार्यशैली परिवर्तन गर्ने ठूलो अवसर पनि हो ।

अर्कोतर्फ यो महामारी अर्थतन्त्र आत्मनिर्भर बनाउने अवसर पनि हो । आन्तरिक रोजगारी सिर्जना गर्न, स्थानीय उपभोक्ताको माग र आपूर्तिलाई सहज बनाइराख्न र ग्रामीण तथा शहरको अर्थतन्त्र चलायमान बनाइराख्न पारिवारिक खेती तथा कौसी खेती, व्यवसायिक कृषि, घरेलु उद्योगधन्दा, साना तथा मझौला व्यापारीहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । यी क्षेत्रलाई ध्यानमा राखेर सरकारले स्टिमुलस प्याकेज ल्याउन सक्यो भने अर्थतन्त्र आत्मनिर्भर बन्छ । अहिले अन्तर्राष्ट्रिय व्यापार सहज नभएको बेला आन्तरिक उत्पादनमा ध्यान दिएर निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने हामी अरूको भर पर्नुपर्ने अवस्था रहँदैन । स्वदेशी उत्पादन नै प्रयोग गर्ने बानी बसाले आत्मनिर्भर अर्थतन्त्रतर्फको हाम्रो यात्रा सहज हुन्छ । 

यो आलेख लोकान्तर दैनिकमा जेष्ठ १५ ,२०७७ मा छापिएको छ। http://www.lokaantar.com/story/109130/2020/5/28/article

If you enjoyed this article, Please get email updates (It’s Free)

यदि तपाईंले यस लेखलाई मन पराउनु भयोभने,  कृपया ईमेल अपडेटहरू प्राप्त गर्नुहोस् (यो नि: शुल्क हो)।