Book Review

पुस्तक समिक्षा

बीपीकी मोदिआइन: एक प्रेरणाकी स्रोत

                                                         

बाल्यकाल सबैलाई प्यारो लाग्छ। अझै सम्झन लायक क्षणहरुले त मन झन् आनन्दित तुल्याउँछ। समाजमा महत्वपूर्ण योगदान गरेका असल पात्रहरुको बाल्यकालका सम्झनाले त हामीलाई प्रेरणा पनि दिन्छन्। 


मेरा बुवा (ससुरा बुवा स्व  प्रा हेमलाल न्यौपाने) नेपाली साहित्यका प्राध्यापक हुनुहुन्थ्यो। उहाँका नेपाली साहित्य,संस्कृत र हिन्दिका प्राय मोटा मोटा किताबहरु कोठाका भित्ताको काठको पुस्तक दराजमा सजिएका छन् जुन मैले केवल हेरेर आन्नद लिनका लागि मात्र  ठानेकी थिए। वित्तिय र व्यवस्थापन  मेरो बिषयगत क्षेत्र हुन् तर मेरो साहित्य पढ्ने र लेख्ने रुची यो लकडाउनले बढाएको हो। जसलाई मैले एक अवसरको रुपमा लिएकी छु। बढीजसो वित्तिय तथ्याङ्कको जोड घटाउमा भुल्ने म साहित्यको स्वछन्द खुला आकाशमा रम्न पाउँदा निकै रोमांचित महशुस गरेकी छु। बुबाका यि पुस्तकहरुमा साहित्य अलवा अरु केहि रोचक कृति पनि छन् जस्तै स्वामी विवेकानन्दका जीवनी जुन मेरो दोस्रो छनोटमा पढ्ने लिस्टमा राखेकी छु, हेरौं कति बुझेर अध्ययन गर्न सकिन्छ। समयको सदुपयोग गर्दै यो लक डाउनमा केहि आफ्नो क्षमताले भ्याएका नेपाली साहित्यका किताबहरु हेर्ने क्रममा सानो पुस्तक विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला) द्वारा लिखित लघु उपन्यास मोदिआइनले मेरो ध्यान खिच्यो।

नेपाली साहित्य जगतका उज्वल नक्षत्र बीपी कोइराला नेपाली राजनितिमा प्रथम जननिर्वाचित प्रधानमन्त्री पनि हुन् । उनका उपन्यासमा यौनमनोविज्ञानका अतिरिक्त आत्मिक नैतिकता, लैङ्गिक विभेद तथा युद्धको भर्त्सना जस्ता सामाजिक समस्याहरूले उल्लेख्य स्थान ओगटेको भेटिन्छ। लगभग आधा शताब्दीसम्म नेपालको राजनीति इतिहासका प्रमुख हस्ती रहेका उनि साहित्य सिर्जनामा भने युगौयुग अत्यन्त प्रभावशाली रहनुको कारण राजनीतिको गन्ध उनका कृतिमा  कतै आउन नदिनु पनि हो। उनका पुस्तक चेतना प्रकाशनले वि स २०३६ सालमा पहिलो संस्करण स्वरुप ३२०० प्रति ल्याएको रहेछ जस  मघ्ये एक मेरो हातमा थियो। यो पुस्तकको त्यो बेला प्रति मुल्य  नेपाली पाँच रुपियाँ असि पैसा रहेछ जुन अहिलेको समयमा  कुनै पुस्तक किन्ने कल्पना पनि गर्न सकिदैन। यस पुस्तककी पात्र मोदिआइनले मेरो मनलाई यति धेरै प्रभाव पार्यो कि मैले उनलाई एक  असल मार्गमा हिड्न सिकाउने प्रेरणाकी स्रोत मानेर केहि लेख्ने जमर्को गरें। उनकै नामबाट  यो उपन्यासको नामकरण गरिएको हो ।



 वि स २०२० साल माघ महिनाको कठ्याङग्रिने जाडोलाई चुनौति दिदै सुन्दरीजल बन्दी गृहभित्र बीपीले तिन दिनमा लेखेर सकेका यो लघु उपन्यास मोदिआइन  मैले भने दुई पटक पढें लगातार। जति पढ्यो उति पढौं पढौं लाग्ने। कारण हो, मोदिआइनमा गीता दर्शनको सटिक चर्चा सहित महाभारतको युद्ध र शान्तिका पक्षमा नारी तथा परीवारमा गुम्सिएका द्वन्द्ले भरिएका संवादहरुका साथै असल भई सत्कर्ममा लाग्ने विचार प्रधान हुनु हो।  मलाइ लाग्छ, यो उनको असल, नैतिक भएर जीवन जिउने पुस्तक हरेक उमेरकाले बेला बेलामा पढ्नु पर्छ, अनि आफ्ना भाई बहिनि, छोराछोरिलाई पढ्न अनि त्यसअनुसार आचरण गर्न सिकाउनु पर्छ। मैले यो भन्दा अगाडि  भागवत गीता पनि पढेकिले मोदिआइनमा आउने महाभारत र कृष्णका गीताका संदर्भ मलाई बुझ्न अझ सहज भयो। हजारौं वर्षअघिको महाभारतीय युद्धकथाको प्रसङ्गलाई  एक कोमल ह्रदय भएकी नारी मोदिआइन पात्र मार्फत युद्धको भयङ्कर परिणामबाट बच्न शान्ति स्थापनामा हरेक नर-नारी लाग्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ।  चिसो वातावरणमा लेखेका उनले यो पुस्तकमा भने निकै न्यानो बाल्यकालको चन्चलताका साथै मनमस्तिकमा एक असल बन्ने उर्जाका किरणले भरिएका छन्। बाल्यकालको यात्रालाई लामो समयपछि एक बालसुलभ अनि सरल भाषामा लेखिएको यो उनको पुस्तक पढ्दै गर्दा आफू कतै त्यही नजिकै भएको महशुस  हुन्छ। ५२ पृष्ठको सानो आकारको पुस्तकभित्र विशाल इमान, नैतिकता, प्रेम, सौन्दर्य, त्याग, एवं बाल मनोविज्ञानलाई सरल रुपमा दर्शाइएको छ।

चालिस बर्ष पहिलेको बाल्यकालको घटनालाई कल्पनाको शक्तिद्वारा बीपी मिसिरजीलाई सम्झछन् जहाँ उनिसंगै भारत राज्य बिहारको उत्तर भागमा पर्ने दरभंगा जाने ढीपी बालहठको बलमा जित्छन् (पृष्ठ ६)। दरभंगा स्टेशनको स्वरुपको वर्णन गर्दै बीपी मिसिरजीको पछी लाग्दै मोटि,हिस्सी परेकी मोदिआइनको पसलमा पुग्छन्। बीपीले मोदिआइनको जिउडालको स्वरुपको वर्णनले उनि नारि सौन्दर्यको मनोविज्ञानलाई प्रकाश पारेका छन् (पृष्ठ १२)। केटाकेटी मानेर मोदिआइनले ममताभाव स्वरुपसहित मीठो बोलि र पित्ले थालमा राखेको खानाबाट बीपी दङ्ग पर्छन्। महाभारतकालीन कथासँग जोडेर वर्णन गरिएको हडाहा पोखरीमा मोदिआइनको सल्लाह मान्दै बिच गहिरोमा नगएर छेउमानै नुहाएको प्रसंगले उनि  आफुलाई एक आज्ञाकारी बालकको कित्तामा उभ्याउँछन्।

यो पुस्तकको मुख्य सार पृष्ठ १५ मा आउँछ, जहाँ मोदिआइनले पढिसकेर ठुलो  हुने होइन असल हुनुपर्छ भन्दै बीपीको अन्योलतालाई हटाउदै उनि थप प्रष्ट्याउँछिन् "ठूला मानिस थरीथरीका हुन्छन्। असल मानिस भने एकथरीका मात्र हुन्छन्"। यसलाई उनको यो कृतिमा दुई पटक बिशेष रुपमा इङ्कित गर्नुले बीपीले यस उक्त्तिलाई आफ्नो जिवन यात्रामा एक दिशानिर्देशको रुपमा लिएको बुझिन्छ।

असल हुनु भनेको अहिलेको परिपेक्षमा ठुलो महत्व राख्दछ। गीतामा भगवान् श्रीकृष्णले मानव समाज असल नीति, कर्म र व्यवहारबाट अगि बढ्न सक्दछ भनेका छन्। असल पात्रमा सदाचार हुन्छ जुन उसको अन्तरात्मामा सदा  अदृश्य शक्ति बनेर रहन्छ र उसलाई अनैतिक कर्म गर्नबाट रोक्दछ। नेतृत्ववर्गको असल विचार र असल कार्यलेनै असल समाजको निर्माण हुने हुदाँ प्रत्येक जिम्मेवारीलाई सुअवसरका रूपमा लिई सामाजिक भावनाले ओतप्रोत भई जनताको सेवा गर्नु पर्ने आजको आवश्यकता हो। महान दार्शनिक चाणक्यले भनेका छन्," उच्च आसन, महलमा बसेर होइन मानिस असल गुणले उत्तम हुन्छ।"आफ्नो आचरण र व्यवहार ठीक नहुने व्यक्त्तिले अरुलाई मात्र दोष दिइरहनु आफ्नै कमजोरी हो भनेर बुझ्नु पर्दछ। व्यक्ति परिवार हुदै समाज अनि राष्ट्रको निर्माण हुने हुदाँ आफुबाटै असल सदाचारको शुरुवात गर्न जरुरी छ। अहिले समाजमा प्रतिष्ठा,पद र पैसाको लोभमा व्यक्ति आफ्नो धरातलीय यथार्थबाट बिमुख भइराखेको अवस्थामा बीपीको यो कृति उपयोगी छ।

बीपी एक्कामा चढेर दरभंगा शहर, त्यहाँको राजदरबार घुमेर निकै उत्साहित हुन्छन्। मोदिआइनको महाभारतको पालाको हडाहा पोखरीको मछुवारिनको कथाले उनी उत्तेजित हुन्छन्। यसै क्रममा मछुवारिनले कलियुगमा मानिस मात्र खिइएनन्, पशु पंक्षी पनि खिइसके भन्नुले अहिलेको समयमा कतै मानिस आदर्श अनि नैतिक रुपमा पतन हुदै गइरहेको त छैनौ भन्ने  पनि भान हुन्छ।यसका अलवा मोदिआइनले राति सुत्ने बेलामा महाभारतका कथाले पाण्डव जस्तै वीर,पराक्रमी हुनुपर्ने प्रोत्साहन गर्दै  जीवन,घरपरिवार जोगाउन सदाचारी भई जुवा खेल्न भने नहुने सार व्यक्त गर्छिन्। जसलाई बीपीले बडो उत्सुकतापूर्वक सुन्छन्। एक क्षत्रिय कुमारी हुदाँका आफ्नो यौवनले पुर्ण रुप र पुरुषसंगको  बयानमा कतै उत्छृङ्खलता देखिदैन। अहिलेका पढ्नै नसकिने किसिमले  यौन र यौवनका व्याख्या गरेर साहित्य लेखनलाई छाडा बनाउँन खोज्नेलाई बीपीको यो लेखन शैलि एक मार्गदर्शक हुन सक्दछ। मोदिआइनले आफ्नो अनुभव बीपीलाई सुनाउदै उनि हृदयमा माइतिका आमा-बा-भाइलाई मायाका साथ संझिदै आफु पत्नी भएर एउटा पुरषको न्यानो स्पर्शको अनुभव गर्दै कर्मघरमा गएको प्रशंगले विवाहित महिलाको सहनशिलता,कर्तव्यवोधको  आभास दिलाउँदछ। स्वामी विवेकानन्द भन्दछन्, "सत्य, इमान्दार र उर्जावान महिलालाई जित्न एउटा भीडले पनि सय वर्ष लगाउँदछ।" परिवारको पारस्परिक माया अनि पति पत्निको प्रणयले घरमा स्वर्गभन्दा सुख प्राप्त भएको  उनको कुराले हरेक महिलाको मनमा असल गृहिणी हुनुको भावनालाई अझ मजबुत बनाउँछ (पृष्ठ ३४)। 

जीवन एउटा कहिले पनि समाप्त नहुने वसन्त को रुप हो (पृष्ठ ३५)। नारीको मर्यादा अनुरुप  आफ्नो सुलभ नारित्वलाई तिलाञ्जलि दिदै आफ्ना पुरुषलाई युद्धमा होमिन उत्तेजित बनाउनु नहुने भन्दै महाभारतकी द्रोपदीको उक्साहट मोदिआइनका साथै सारा साथीलाई मन पर्दैन (पृष्ठ ३८)। यसले नारी कोमलता र ममताको प्रतिमूर्ति रहनुका साथै समाजमा शान्ति राख्न नारीको भूमिका महत्वपूर्ण हुने झल्को दिन्छ। निन्द्रामा बीपीले सुनेका महाभारतको युद्धको डरलाग्दो वर्णन निकै चाखलाग्दो छ। आफ्ना प्रेमिको अन्तिम स्पर्शको अनुभवको यादमा मोदिआइन त्यही हडाहा पोखरीमा बाकी जीवन बिताएको सन्दर्भ सहित असल आचरणले नै जीवन जिउनुको अर्थ हुने निचोड निकाल्छिन् ( पृष्ठ ५०)। दरभंगाबाट जयनगर रेलको यात्रामा घर फर्कदा समेत बीपीले निन्द्रामा "नानी, ठुलो नहुनु, वीर नहुनु। असल हुनु, असल" भन्ने सन्देशले हामीलाई  असल जीवन जिउनुको वास्तविक यथार्थतालाई उजागर गरेका छन् ,जसले यो कृतिलाई कालजयी बनाएको छ। ( पृष्ठ ५१)

अन्त्यमा बीपीको यस मोदिआइन एक अत्यन्तै पठनीय कृति हो। बालमनोविज्ञान  र नारी मनोविज्ञानको बेजोड प्रयोग गर्दै असल विचारहरूले उपन्यासलाई एक उच्च स्थानमा पुर्याएको छ जुन अहिलेको समयमा पनि उत्तिकै सान्दर्भीक छ। बीपीले मोदिआइन पात्र  मार्फत गीताद्वारा आध्यात्मिक चिन्तनले मनलाई शुद्ध गर्दै  हरेक व्यक्तिले जीवनको नैतिक धराताललाई आत्मसात् गर्दै असल कर्मले आफ्नो जीवनलाई सफल तुल्याउनु पर्छ भन्ने मुख्य सन्देश दिएका छन्। यस उपन्यासकि केन्द्रीय पात्र मोदिआइन एक असल नारीकी प्रतिबिम्बित गर्दै नारीहरूका पीडामय कथाहरूलाई सजिव ढङ्गले प्रस्तुत गरिदिएका छन् । जीवनमा आफ्नो कर्ममा असल  भएर तल्लीन भएमा सबैको कल्याण हुने र यसले जीवनमा सफलता दिलाउने उनको यो कृतिमा पाउन सकिन्छ। जो कोहिलाई पनि शान्ति स्थापनामा अग्रसर हुदैं असल भएर जीवन जिउन प्रेरित गर्ने यो कृतिले नारी नै परिवार र समाजकी केन्द्रबिन्दु हुन् भन्ने  विचार मोदिआइन पात्र मार्फत दिन पनि सफल भएको छ। यस अर्थमा पुस्तककी मुख्य नारी  पात्र मोदिआइन त सबका लागि आदर्श जीवन जिउने एक प्रेरणाकी स्रोत बनेकी छिन्।

सम्पर्कईमेल: kanaujesabita@gmail.com


मेरो यो समीक्षात्मक टिप्पणी "बीपीकी मोदिआइन: एक प्रेरणाकी स्रोतशिर्षकमा मिति जुलाई १८,२०२०मा छापिएको छ।

http://www.lokaantar.com/story/113271/2020/7/18/bp-book

If you enjoyed this article, Please get email updates (It’s Free)

यदि तपाईंले यस लेखलाई मन पराउनु भयोभने,  कृपया ईमेल अपडेटहरू प्राप्त गर्नुहोस् (यो नि: शुल्क हो)।



लालटिनको उज्यालो:सरस्वती ज्ञवली र मन्त्री ज्ञवालीको प्रेम कहानी सहितको आत्मकथा

सविता कनौजे न्यौपाने

शनिबार, चैत्र १० २०७४ मा नँया बानेश्वर स्थित अल्फा बिटा हलमा म पनि समावेश भएकी थिए।  जहाँ लेखक सरस्वती ज्ञवालीले आफ्ना जीवनका  अनेकन संघर्षअनुभवका अनगिन्ती पोका पन्तुराहरुले भरिएको आफ्नो आफैले लेखेको पुस्तक लालटीनको उज्यालोमा (आत्मकथा) लोकार्पण गरेकी थिइन्।


हलमा उपस्थित सबैको केन्द्र बिन्दु भएकी थिइन् उनि अर्थात् सरस्वती ज्ञवाली, जसलाइ मैले जहिले पनि एक गृहिणीका रुपमा मात्र चिनेकी थिए। लोकार्पणंमा भएका कुराकानी अनि पुस्तकमा भरिएको उनको हस्ताक्षर बोकेर म घर फर्के। एम.बि.ए को अन्तिम परिक्षाको तयारी हुनाले त्यो उर्जाले भरिएको किताब केवल मेरो किताब र्याकमा सजिएर बस्यो। नढाटिकन भन्दा मैले त्यो किताब त्यस पछि पढ्न चाहेर पनि पढ्न सकिन , कारण आफ्नै पढाइका किताबका लामो सुची अनि कामको चटारो पनि।

अहिले २०७६ साल चैत्र ११ देखि  कोभीड-१९ का कारण लकडाउन भएपश्चात् घरमा बढी फुर्सदिलो भएकी छु। महामारीको बेलामा अन्य घरायसी कामकाजको निरन्तरता सहित आफ्ना पाठ्यक्रम किताबका अलवा अरु ज्ञानगुनका किताबहरु पढ्ने क्रममा यदुनाथ खनाल:जिवनी र विचार,श्री मद्भागवत गिता, जोन उडको माइक्रो सफ्टदेखि बाहुनडाँडासम्म, लगायत एक दर्जन बढी पुस्तक पढे। सबैका आफ्ना आफ्ना बिशेषताहरु छन्। यी पुस्तकहरु मैले केहि आफ्नै त केहि सासु आमा अनि केहि श्रीमानका सिफारिसहरुका थिए। यसै क्रममा फेरी मेरा आँखा टक्क अडिए "लालटीनको उज्यालोमा" जसले मलाइ पुन: एक पटक उनै एक साहसी नारी सरस्वती ज्ञवालीको आत्मविश्वासको अनुभुतिको रसस्वादन गर्न प्रेरित गर्यो।

२९ बिषय सुचिमा लाल्टिन बाल्दै अन्तमा तस्विरमा आफ्ना जिवनयात्राले २४४ पन्नामा  यो आत्मकथा सुसज्जित छ। मलाइ यो आत्मकथाले तान्नुको कारण एक महिलाले जिवनमा गर्नु परेको संघर्ष र त्यागनै हो। चाहे त्यो आगामी पुस्ताले आफ्नै दैलोमै शिक्षाको उज्यालो लिन पाउनका निम्ति होस् (पृष्ठ ६) या जसरी पनि पढेर केहि गरेर समाजमा आफ्नो स्थान बनाउने हुटहुटिलेनै पढ्नका लागि भागेर तानसेन पग्नु परेको होस्। उनी अगाडी भन्छिन्, पढाई संगसंगै प्रगतिशिल किताब पढ्न थालेपछि कोर्सका किताबहरु त नुन नभएको तरकारी जस्तो लाग्न थालेको अनुभुतिले अहिलेका युवालाई कता कता राजनितिमा आकर्सित गर्न खोज्ने तर सिद्दान्त र व्यवहारमा त्यस बेला जस्तै अहिलेपनि राजनिति केवल फोहोरी खेल नै हो कि भन्ने भान हुने ठाँऊ दिएको छ (पृष्ठ २४)।

शशि (अर्थात् माननीय नेता प्रदिप ज्ञवाली ) सँग भुमिगत अवस्थामा भएको  पहिलो भेटमा उनको सरलता, इमानदारिता र बौद्दिक व्यत्तित्वले  भीत्रि सौन्दर्यको पहिचान गरेरी उनले,बिहे भएनि नभएपनि शशिलाई अफ्ठ्यारो नपरोस्, कहिल्यै बिरामि नहोस् भन्ने सद्भाव हुनुले एउटा असल प्रेमको उजाजर गरेको भान हुन्छ, जुन अहिलेको पुस्तालाई राम्रो पाठ हुन सक्छ (पृष्ठ ३२)। ताली सहित हात मिलाएर माला र टिका आदानप्रदानमा सम्पन्न विवाह फजुल खर्च विरोधीको प्रतिक भएको, जन्मघर र कर्मघरबिचको अन्योलता बिच शिल्पकलामा ढाका बुन्ने इलमले जिन्दगी चलेको अनि सुहागरात साथै हनिमुन मात्र केवल श्रीमानले महिना दिनमा पठाएका चिठिमा सिमित हुदाँका अचम्मित पार्ने प्रेरणादायी यथार्थ शब्दहरुले प्रेम,त्याग र समर्पणको बेजोड चित्रण पाइन्छ, उनको आत्मकथामा (पृष्ठ ३६)।

जति चलायो  हसिया धारिलो भए जस्तै मान्छे पनि अनुभव, शीक्षा, सङ्गठन निर्माण, आन्दोलन लगायतका आरोह-अवरोहले र समाज भने शिक्षा अनि चेतनाले परिपक्व हुदै जाने कुरा उदाहरण सहित पुस्तकका पानाहरु सुसज्जित छन्। समाजमा जुका जस्तै छुचुन्दे प्रवृतिका मान्छे (पृष्ठ ६१) देखि डटेर फलामझै खारिनु पर्छ भन्ने उनको प्रेरणा अहिले पनि सान्दर्भीक लाग्छ। श्रीमान(आकाश)-श्रीमती( धर्ति जस्तै) को भेट महिनौ सम्म नहुदाँ, यौवनका चहना (पृष्ठ १२६) अनि एक अर्काको साथको कमीको सन्दर्भका क्रममा आकाश र धर्ति जोडिने बिन्दुको सुमधुर कल्पनामा आफ्नो सन्तानको नाम जुराएको सन्दर्भले निकै रोमान्चक बनाउँछ (पृष्ठ ७२)।  तर क्षितिज बनेर आएकी पहिलो छोरीनै मष्तिस्क पक्षघातको शिकार भएपछिका तनाव अनि स्याहार सुसारले आश मारेकी छोरी हाल एकान्तको साथी भएको कुराले आमाको अपार माया एवं त्याग झल्किन्छ।

लाल्टिन बालेर आफ्नो दु:खको तलब र स्कुल बनाउन गरेको मौन विद्रोह होस् या लैङ्गिक समानताका लागि खेप्नु परेको "मादलेहरु" को (पृष्ठ १०३) बिल्लालाई, एक कर्मठ छोरी, बुज्जकी श्रीमती अनि असल बुहारी भएर छोरा सरह कर्म क्षेत्रमा नेतृत्व गर्न गरेको संघर्ष निकै प्रेरणादायक छन्। विवाहको एक मात्र चिनो सिटिजन घडिले देखाएको समय त्यो रातको एघारको उकुसमुकुसदेखि पौने बार्हको आफ्नो सुझबुझपुर्ण समजदारीताको वर्णनले जिवनको जिम्मेवारीको बोध गराउदँछ (पृष्ठ ११९)। महिलाहरुलाई सिलाइ कटाई जस्ता क्षमता विकासका कार्यक्रम अति सरल र व्यावाहारिक तरिकाले सिकाउन सक्ने कलाले उनको काम प्रतिको लगाव र दक्षता झल्किन्छ।

एकदम मिल्ने साथी पनि किन व्यवहार बदलिन्छ आर्थिक कारण होकि अरु केहि  भनि सोद्धा  आफै कृष्ण र सुदामाको उदाहरण दिदै एस्तो हुन नहुने बताउँछिन्। "पार्टि एउटै हुदाँ पनि सम्बन्ध चिसिनुमा वर्ग वा विचार के फेरिन्छ?" भनेर हामी पाठक समक्ष यक्षप्रश्न छोडिदिएकी छिन्।(पृष्ठ १३८)

बार्ह बर्षमा राजनिति पुर्वाग्रहका कारण एघार जागिर छोडेर परिवारको रेखदेखमा समर्पित उनि  यसलाई आफ्ना श्रीमानको सफलतासँग जोड्न पाउदा गर्व महशुस गर्छीन्। आत्मसंतुष्टिका साथ आरामको सास फेर्दै एक अर्का प्रतिको समर्पणमा मिठो आभासको अनुभुति दर्शाउँछिन्।( पृष्ठ १४४) साङ्घातिक आक्रमणमा परेका आफ्ना जिवनसाथीको दुखद परिस्थितिमा घायल मनलाई कठोरताका साथ समाल्दै दु:खंमा नआत्तिने र सुखमा नमात्तिने चरित्र कुशलताका साथ निर्वाह गर्छिन्। प्रत्येक सफल पुरुषको पछाडि एक महिला हुन्छिन् र ति महिला उसकी पत्नी हुन्छिन्  भन्ने भनाई यो आत्मकथा पढ्दै गर्दा सरस्वतिमा भएको  लगनशीलता, सहनशीलता, इमानदारिता, धैर्य एवं आत्मविश्वासबाट प्रष्ट हुन्छ।  

"सानो सानो कुरा पनि पुर्ति गर्न नसकिने हाम्रो अवस्था छ तर पनि हामी सन्तोषले बाँचेकै छौं" भन्दै खोक्रो आडम्बर रहित सरल जीवन गुजारेकोमा उनि गर्व गर्छिन् ( पृष्ठ १७५)। सासु आमा र बुहारीको सम्बन्धका बारेमा लेखिएका उनका शब्दहरुले उनको सासुआमा प्रतिको प्रेमभावना झल्किन्छ जसमा उनि आफैलाई भाग्यमानीको संज्ञा दिन्छिन्।

सहयात्राको तिन दशक पछि पहिलो विदेश भ्रमणमा निस्केकी उनि त्यहाँको विकाशबाट प्रभावित भएर आफ्नो देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्छीन्। देशको सेवा गर्न सबैभन्दा प्रवाभकारी माध्यम राजनितिनै हुने तर आफ्नो उत्तरदायित्व,जिम्मेवारीका साथ सेवा भावले कर्म गर्नु पर्ने कुरा उनी नयाँ पिढींलाई बुझाउन चाहन्छिन् (पृष्ठ २३०)। नेताहरुको मुख्य जिम्मेवारी देशको सम्रग विकाश हुने गरी निति निर्माणमा हुनुपर्छ भन्ने सोचाइबाट प्रेरित भई आफ्ना श्रीमानलाई स्वत्रन्त्र ढङ्गले कर्ममा लाग्न प्रेरित गर्छीन्। उनि आफु भने पारिवारिक दायित्व निर्वाह गर्न सम्पुर्ण व्यावसाहिक तथा राजनितिक यात्रालाई सहजताका साथ तिलान्जली दिएर एक पुर्णकालिन गृहिणीको रुपमा आफुलाई समर्पित गर्दछिन्। महिला स्वतन्त्रताका लागि सबै महिला मात्र नभइ पुरुषसंग पनि सहकार्य गरी निति निर्माणमा महिलाको उपस्थितिमा समानतायुत्त समाज बनाउन सकिने बताउँछिन्। अन्त्यमा उनको यस आत्मकथाले जिवनमा आउने अनेकौं उतारचढावबाट बिचलित नभई आफ्नो जिम्मेवारी ढृढताका साथ निभाउन सक्नुपर्छ र आफ्नो परिवारिक दायित्वलाई सबैभन्दा महत्व दिनुपर्ने भन्ने उनको साहसिक विचार र व्यवहार हामी सबैलाई उत्तिकै प्रेरणादायी हुनसक्छ।  

मेरो यो समीक्षात्मक टिप्पणी "लालटिनको उज्यालो:सरस्वती ज्ञवली र मन्त्री ज्ञवालीको प्रेम कहानी सहितको आत्मकथा"शिर्षकमा मिति जुलाई १,२०२०मा छापिएको छ।

https://hollywoodkhabar.com/sashi-saraswati-booklaltiin

If you enjoyed this article, Please get email updates (It’s Free)

यदि तपाईंले यस लेखलाई मन पराउनु भयोभने,  कृपया ईमेल अपडेटहरू प्राप्त गर्नुहोस् (यो नि: शुल्क हो)।








लकडाउनमा तीज, माइतिको सम्झना !

 

·      सबिता कनौजे न्यौपाने

 

कोरोनाबीच तीज पर्व आउन केहि दिन मात्र रहेसँगै मलाई सुरक्षित भएर माइत गएर आमालाई भेट्ने  पाए हुन्थ्यो भन्ने रहर एकातिर पलाउदै छ भने अर्कातिर कोरोनाको डर-त्रासले अनि लकडाउनको हल्लाले घरमै बस्नुपर्ने बाध्यताले म जस्ता विवाहित महिलाको मन पिरोलिन थालेको छ। सामाजिक र साँस्कृतिक दृष्टिकोणले निकै महत्व बोकेको तीज पर्व महिलाहरुलाई घरको जिम्मेवारी बिर्सेर माइतिसंग प्रेम सम्बन्ध प्रगाढ बनाउने पर्व होहरेक वर्ष हरितालिका तीज भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म चार दिन मनाइन्छ, जसअनुसार यस पालि भदौ ४ देखि ७ गते सम्म परेको छ। तृतीयाका दिन व्रत वस्ने विशेष दिन हुनाले यस दिनमा भने महिलाहरुलाइ सार्वजनिक बिदा पनि दिइन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा निर्भीक, स्वतन्त्र र स्वछन्द रुपमा मनाइने तीज विवाहित महिलाहरुलाइ  एक बिशेष पर्व हो। धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको अनुसार हिमालय पुत्री पार्वतीले भगवान शिवकी अर्धाङ्गीनी हुन पाउ भनि उनको आरधना गरि व्रत बसेको दिन हरितालिका तीजको दिन भएको र सोको प्रभावले पार्वतीको भगवान शिवसंग विवाह हुन पुगेको पाइन्छ। यसर्थ भाद्र शुक्ल तृतीयाको दिन यहि विश्वास सहित अविवाहित महिलाले सुयोग्य पति पाउनका लागि र  विवाहित महिलाले आफ्ना पतिको  दीर्घायु, प्रगति एवं सुस्वास्थ्यको कामना गरी तीजको व्रत बस्ने चलन देशभर चलि आएको छ।


यो पर्व नजिकिदै गर्दा मलाइ माइतमा तीज आउनु भन्दा एक हप्ता अगिबाट  हामी गाँउका घर घरमा जम्मा भएर गित-संगितको साथ रमाइलो गरेको याद आउँछ। हाम्रो घरमा धेरै (फूपू) दिदी बहिनी भएर होला, दर खाने दिन भने प्राय हाम्रो घरमा जम्मा भएर रातको १२-१ बजे सम्म नाचगान गरिन्थ्यो। सो दिन बिहान सामान्य भात दाल तरकारीका साथै काक्क्रोको  बिशेष अचार चाहि अनिवार्य जस्तै हुन्थ्यो। एकदम धेरै घ्यु राखेर खाजा बनाइन्थ्यो। दिउँसो चार बजेतिरबाट फेरि खीर तामा टुसा घिरौलाको परिकारहरुले पेट भरीन्थे। आमा र हामी मिलेर बिस- पच्चिस घाँसका भारि काटेर  थुपारिन्थ्यो। तीजको दिन हामी दिदी बहिनी सल्लाह गरेर डाँडामा गएर नाच गान गरिन्थ्यो। मेरी हजुरआमा ( स्व भुमकला कनौजे ) डाँडामा नाच्दा नाच्दै बेलुकी छ बजेतिर सुटुक्क घर आएर हामीलाइ बेलुकीको खाना तयार पारिदिनु हुन्थ्यो। आमा र छ बहिनी फूपू दिदीहरुले भने निराहार ब्रत बस्नुहुन्थ्यो। हामी साना केटाकेटि ,दाइ र  बाबाले आठ- नौ बजेतिर हजुरआमाले पकाएको मीठो मानि मानि खाना खान्थ्यौ ।तीजको तेस्रो दिन चौथीका दिन स्नान गरी व्रतको पारण हुन्थ्यो। पूजा सामाग्री तयार गर्न हामी साना केटाकेटिहरु  मिलेर दत्तिउन,अमलाको माटो,धमिराको ढिस्कोको माटो, भलायाका पातहरु खरबारी तथा खोला किनारमा खोज्न डुल्थ्यौ। अनि राति सबै बसेर सुपामा तिन सय पैसठ्ठी वटा दत्तिउन प्रति एक जनालाई तयार गरि अन्य सामाग्री बनाएको हेर्दा रमाइलो लाग्थ्यो। तीजको अन्तिम दिन अर्थात् ऋषिपञ्चमीका दिन आमा,हजुरआमा,फूपू दिदीहरुले दत्तिउन सहितले दाँत माझि बिहान चार बजे देखि करिब पाँच घण्टा सम्पुर्ण शरीरमा बेसार,कमेरो,गोबर,खरानि लगायत दलेर नुहाउनु हुन्थ्यो। यस प्रकारले नुहाउने गर्नाले छालाका रोगहरु हराउँछन् भन्ने विश्वास पनि रहेको पाइन्छ।दिदीहरुले नुहाएको कर्म हामी साना साना केटिहरु लुकि लुकि हेर्ने गर्थ्यौ र लाजले आफै भुतुक्कै हुने गर्थ्यौ।


पूजा सामाग्री तयार गरेर सप्तऋषि लगायतको पूजामा  आमा दिदीहरु बस्नु हुन्थ्यो। हामी भने त्यहि वरिपरि खेल्थ्यौ अनि पूजा सकिने बेला दिदीहरुको पछी दक्षिणा पाउन कुरेर बस्थ्यौ। सबैले माया गर्दै दुई-पाँच रुपैयाँ  गर्दै दिदै टिका लगाइ दिनु हुन्थ्यो। बेलुकी घर गएर जतन साथ गन्दा पैतिस-चालिस रुपैयाँ  हुन्थ्यो। मन एकदम फुरुन्ङ्ग हुन्थ्यो।घर फर्के पछि हामी सबैले कर्कलाको तरकारि र हलो नलगाएको धानको भात (अनदीको चामल) तयार हुन्थ्यो।आमाहरुले यस दिनलाई भनेर कोदालोले खनेर धानको बिउँ रोप्नु हुन्थ्यो। बेलुकी फेरि नाचगान गरि समापन हुन्थ्यो। यस दिनमा बाबाले भान्सामा सहयोग गरेको देख्न पाइन्थ्यो। जुन मलाइ अहिले सम्झदा पनि रमाइलो लाग्छ। अर्को दिन बिहान फूपू दिदीहरु आफ्नो आफ्नो घर जानु हुन्थ्यो। माइतमा गरेका यी सम्झना अनि हजुरआमा, आमा र फुपू दिदीले गर्नु भएको कर्मले तीजको पर्वबारे केहि जानकारी भए पनि तीजको सम्पुर्ण विधि भने विवाह भएपछि काठमाण्डौं घरमा भएको हो।


 

तीजमा गित सङ्गितको बिशेष महत्व हुने गर्दछ। यसै संदर्भमा मेरी आमा तारादेवि कनौजेले तीजमा गाउने ओझपूर्ण संदेश बोकेका पुराना लयका भाकाहरु बारेमा दुरसंचार प्रविधीको प्रयोग गरेर केहि दिन अगि संकलन गरेकि थिए। जुन यस प्रकार छन्।   

"भुरुरुरु बतास लाग्यो उडाइ लयो पोस्कर,हाम्री आमा अभागि छोरी लस्कर 

धेरै छोरी छन् भनेर पिर नमान आमाले,बाँचे बाटो लगाइदिन्छन् उनै रामले।"

"राम जस्ता दाजु मेरा सीता जस्तै भाउजु

माइत मेरो स्वर्ग जस्तै होउस् बरिलै ।।

देख्न पाम्ला बाबा आमा सय बर्ष बाचेको 

दाजु भाउजु भाइ बुहारी सधै हासेको।"


"आँगनिमा दोछाया पर्यो बरिलै कदमको छायाले

अर पनि दर पनि छोडि आए घर पनि

बाबाका मायाले बरिलै, आमाका मायाले !"

 

"अस्ति देखि सुकाएका धान छन् बाबु कुटिन

सभा आठ हुदा पनि बुहारी उठिन।

भो भो आमा नकराउनु यस्तै आयो चलन

आजकालका बुहारीलाई हुन्न बोलन ।"

 

"कर्कलोको पानी जस्तै मानिसको जीवन, अजम्बरी भए जस्तो तेज बरिलै

न काललाइ चिन जान न काललाई देखन ,आयो भने सकीदैन हाम्ले छेकन।

काखमाका बालखुलाई च्यात भुइमा राखेर,आयो भने जानु पर्ने मुख ढाकेर

स्वर्गबाट आयो बिमान नगइ मलाइ भएन, शोक र संतापको सिमा रहेन।।"

 आफ्ना ती पुराना दिनहरुका स्मरण गर्दै गुल्मी बलेटक्सारकी सतासि वर्षिय हजुरआमा तुलसा देवि पन्थ पुराना भाकाहरु यसरि सम्झनु हुन्छ। 

 "कहाँमा जान्छौं रानी चरी वगाल, बरिलै भगवानलाई भेटन ।

भगवानलाई भेटन के के पाहुर चाहिन्छ?, बरिलै फुतपाती अछेता।"

"आँगनुका डिल बसि काली कौवा करायो, के को मा समीचार ल्यायो बरिलै।

के कु मा समीचार कागतुको चिर्कटो, दोसरि समीचार तिम्लाई लिन हो।

माया दया हुदो हो त बाबा लिन आउँदा हुन्, कागतका चिर्कटाले जान्न बरिलै।"

 

मेरा पालाका तीजका गित भने युट्युबमा हेर्न पाइन्छ, जस्तै कोरोना कहर अभिव्यक्त भएको समसामयिक तीज गित गायिका प्रिया भण्डारीको गायन र चिरन बरालको शब्द अनि सङ्गित रहेको "कोरोना र लकडाउन" म्युजिक भिडियो,जसले आठ लाखभन्दा बढी दर्शकको माया बटुलिसकेको छ। आजकाल यी तीज गितले सजगतापूर्वक तीज मनाउनुपर्ने सन्देश दिन्छन्। 

 

"आमाबुबा, दिदीबहिनी सुन्नुहोला दाजुभाइ

कोरोनाले के के गर्यो भन्छु सबैलाई

कस्तो रोग आयो बरै नामै पनि कोरोना

टाढै बस्न पर्ने अरे हुन्न रे छुन

दस सय हजार हुदै लाखौ ज्यान लिइसक्यो

नेपालमा नि माहामारिको संकेत दिईसक्यो।।" 

 

आमा, हजुरआमाका पालामा महिलाका दुःख, उकुसमुकुस आफ्ना माइतिसंग साटासाट गर्ने माध्यम भएका तीज गितले हाल हाम्रो समयमा परिस्थिति अनुसार धेरै बिषयमा समाजका  प्रतिनिधित्व गर्न थालेको छ । विश्वलाई आतन्कित पारिरहेको कोरोनाले यस तीजमा नयाँ विषयवस्तु थपिदिएको छ ,जसमा व्यङ्ग मिस्रित सुख-दुःख प्रकट भएको पाइन्छ। समय र परिस्थिति अनुसार शब्द चयन गरि  गित बनाउन खख्पिस चर्चित गायक दुर्गेश थापाले यसपाली कोरोनाले जनजीवनमा पारेको असरलाई लिएर बीच्च बीचमा२ शिर्षकमा तीज गित सार्वजनिक गरेका छन् जसको युट्युबमा चौरासी लाखभन्दा बढी भ्यूज पाइसकेको छ। कोरोना कहरले बन्दाबन्दीका कारण कमाइ नभएकाले तीज पर्व मितव्यवी भएर मनाउनुपर्ने सन्देश मुल रुपमा सो गितले दिएको छ ।

हाल म काठमाण्डौं घरमा छु। संयोजवश म र मेरा श्रीमानको घर गुल्मीनै रहेकाले हाम्रो माइति  र घरको संस्कार तथा  संस्कृतिमा केहि भिन्नता छैन।एक अर्काको भावना बुझ्ने र सहयोगि हुनाले मलाइ घरमा निकै सहज भएको छ। मेरी सासु आमालाई सानोमा पढ्न एकदम आउने रहेछ। कक्षा आठ सम्म प्रथम हुनुहुने आमा त्यस पश्चात् विवाह र काम काजमा रोमलिनु भयो। अहिले उँहा म संग भन्ने गर्नुहुन्छ। "एकदम पढ्नु पर्छ, पढाइनै धन हो"। मेरो विवाह भएर घरमा आउँदा मेरो एम बि ए को पढाइ अन्तिम चरणमा थियो। त्यस पश्चात् पनि जागिरको क्रममा गर्नु पर्ने तयारि कक्षाहरुको व्यवस्थापन र घरको काममा उहाँको सहयोग निकै प्रेरणादायी छ। परीक्षाको समयमा पाहुना घरमा आँउदा मलाइ केवल परिचय गराइदिएर "तिमि पढ्न जाउ, म चिया नास्ता बनाउँछु भनेको सुन्दा मलाइ आमाको स्नेहको सहि सदुपयोग गर्ने अझ बढी जिम्मेवारी बढेको महशुस हुने  गरेको छ।परापुर्व कालदेखि सासु बुहारीको सम्बन्धका अनेक टिका टिप्पणी हुने गरेका सुनिन्छ। मेरो विचारमा अहिलेको समयमा धेरै जसो पुस्तान्तरणको खाडलले गर्दा कति कुराहरुमा विवाद वा मन नपर्न सक्छन् तर त्यो कुरा अरुलाई भन्दा पनि सम्बन्धित सँगनै कुरा गरेर स्पष्ट पार्नुपर्दछ। जुन मैले मेरो घरमा आमासँग गर्ने गरेकि छु,जसले गर्दा सासु-बुहारी होइन आमा-छोरीको सम्बंध स्थापित भएको छ।

 

परम्परागत संकृतिसंग जोडिएर आएको यो  तीज पर्वलाई चाहे विवाहित हुन् वा अविवाहित सम्पूर्ण महिलाले यो दिनलाई आफ्ना खुशीको लागि मनाउनुपर्छ । तीजमा प्रयोग हुने रातो पहिरन र गहनाको पनि आफ्नै महत्व छ । रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक हो भने रातो टीका र पोते सौभाग्यको अंकित हो । नव विवाहित महिलालाई गहनाले आकर्षक गर्नु स्वभाविक हुन्छ। तर अहिलेको यो समयमा गहना भन्दा जीवन उपयोगि कुरामा लगानी गर्न सकिन्छ।

नेपाली जनजीवनको सांस्कृतिक, सामाजिक तथा धार्मिकताको मौलिक झल्को दिने यो पर्वले नेपाली महिलाहरूको सुख दुखको चाड हो भन्न सकिन्छ। सांस्कृतिक र सामाजिक रुपान्तरण समयक्रम संगै हुने कुरा हुन् तर मलाई के लाग्छ भने हाम्रो धर्म संस्कृतिले हामी  महिलाहरुलाइ जति स्वतन्त्रता दिएको छ,यसलाई कुनै दिन वा पर्वमा सिमित गरिनु हुदैन।   यो चाडमा जस्तै स्वतन्त्र रुपमा  आफु सधै खुशि रहन र  आफनो घर परिवार समाज अनि राष्ट्रलाई अगाडी बढाउन अब महिलाहरुले सीप मूलक रचनात्मक कार्यमा संलग्न भएर उद्यम शीलता मार्फत आय आर्जनमा अगि बढ्नु पर्छ। आर्थिक आत्मनिर्भरताले महिलाहरुलाई उच्च मनोबलका साथ   समाजमा उभिन टेवा पुर्याउँदछ। आधुनिकता संग रम्दै गर्दा हामीले अन्धविश्वास र कुरितिलाई परिस्कृत गर्दै तीजका पुराना भाका र संस्कृतिको पनि संरक्षण गर्नुपर्छ। विगत दश बर्षदेखि गुल्मेली समाजले आफ्ना माइत जान नपाएका गुल्मेली चेलीहरुलाई काठमाडौंको सिफल चौरमा गर्दै आएको तीज बिशेष कार्यक्रम पनि यस बर्ष कोरोना महामारीका कारण स्थगित गर्ने निर्णय गरेको सो समाजका महासचिव टंक पन्त ज्युले फेसबुक मार्फत जानकारी गराइ सकेको अवस्था छ।हामी चेलीहरुले यस्ता निर्णयलाई स्वाभाविक रुपमा लिई घरमै रहेर परिवारका सदस्य बिच रमाईलो गरेर बस्नुपर्छ। अबको विकल्प भनेको यस पालिको तीजमा कोरोना महामारीबाट हामी जहाँ छौ सुरक्षित रहेर नेपाल सरकारको निर्देशन मान्दै उपलब्ध भएका प्रविधीको माध्यम जस्तै फोन, मोबाइल, भाइभर, फेसबुक, जुम आदि बाट कुराकानी गर्दै,गित गाउदै अनि नाच्दै मनाउनुको विकल्प छैन। सम्पुर्ण महिला दिदी बहिनीहरुमा आउँदो  महानचाड तीजको हार्दिक मङ्गलमय शुभकामना !

सम्पर्क ईमेल: kanaujesabita@gmail.com


मेरो यो लेख "कोरोनाकालमा उहिले हजुरआमाका पालाको तीजको मिठो सम्झना !" शिर्षकमा मिति अगस्ट २०,२०२० (भदौ ४,२०७७)  मा छापिएको छ।

https://www.lokaantar.com/story/115992/2020/8/20/sabita-kanauje 

If you enjoyed this article, Please get email updates (It’s Free)

यदि तपाईंले यस लेखलाई मन पराउनु भयोभने,  कृपया ईमेल अपडेटहरू प्राप्त गर्नुहोस् (यो नि: शुल्क हो)।


पुस्तक समिक्षा


बत्तीमुनिको अँध्यारोलाई उज्यालो बनाउँदै अश्विनकुमार पुडासैनी


बत्तीमुनि अँध्यारो मात्र हुन्छ भनेर सुनेका यी कानले ‘बत्तीमुनि उज्यालो’ शीर्षकको किताब फेला पार्दा म स्वयम् शीर्षक किन यस्तो नमिलाएर राखेको होला भनि झुक्किए । यो किताब पढ्दै जाँदा पो थाह भयो समाज र संस्कृति, अर्थ र व्यवस्थापन, राजनीति र कूटनीति खण्ड अन्तर्गत ६२ शीर्षकमा समेटिएका यो पुस्तकका लेखक अश्विनकुमार पुडासैनीले त एक साँच्चिकै सकारात्मक ऊर्जा जगाउने ओजपूर्ण लेखको खुराक पो तयार पारेका रहेछन् ।

सकारात्मक सोचको सञ्चार, प्रशंसनीय खोज, बानी–व्यवहार र धारणाको अभिवृद्धि गर्ने सफलताका कथाले आशा जगाउँदै उज्यालो छर्ने टुकी रहेछ यो पुस्तक । 


समाज र संस्कृति 

    पुस्तकको पहिलो खण्डमा समाज र संस्कृति खण्ड अन्तर्गत २० शीर्षकमा लेखकले प्रकाशको खोजी गर्दै यो जीवनमा जन्मेपछि सबै मानव जातिले आफ्नो सत्कर्ममार्फत समाजमा प्रकाश छर्न सक्षम छन् भनेका छन् । अप्प दिपो भवः अर्थात् तिमी आफैं प्रकाश बन भन्दै युवा पुस्तालाई मार्गनिर्देशन दिन यो पुस्तक सफल भएको छ ।

    लेखकले हजुरबाको सीसीटीभी कथामार्फत आफूले गरेका कर्मको निगरानी हुने हुँदा सदा सत्मार्गमा हिँड्ने प्रेरणा पाठकमा भर्न सफल भएका छन् । सकारात्मक  प्रवृत्तिको विकास ४ डी (डिस्कभरी, ड्रीम, डिजाइन र डेलिभरी) अर्थात् सफलता, सपना, योजना र कार्यान्वयन गरेर गर्न सकिन्छ भन्ने धारणामा सहमत हुने ठाउँ प्रशस्त भेटिन्छ । सफलताको इतिहास हेर्नका लागि सकारात्मक आँखा चाहिने आफ्नी धर्मपत्नीबाट प्रेरणा पाएका सकारात्मक सोधखोजका प्रवर्तक डेभिड कुपरराइडरको प्रेरणास्पद कथाले हामीलाई उत्साह प्रदान गर्दछन् । 

    शक्तिका स्रोतहरूको पहिचान गर्दै विपश्यना ध्यानले असीमित ऊर्जा प्राप्त भएकाले साना नानीदेखि युवा सबैलाई आफ्नो जीवनको शाश्वत यथार्थ बुझ्न विपश्यनाको अभ्यास गर्न लेखक सुझाउँछन् । ज्येष्ठ नागरिकको प्रतिभा र योगदानको कदर घरपरिवारबाट समय रहँदै शुरू भएमा मात्र युवा पुस्ता उहाँहरूको ज्ञानबाट लाभान्वित हुन सक्छन् भन्ने राम्रो सन्देश दिएका छन् ।

    उत्तम ज्ञानको प्रेरणाले प्रगति पथमा लम्किनका लागि सारा नेपालीका साथै प्रत्येक राजनीतिक कार्यकर्तालाई श्रम गरेर उद्यमशीलताको विकासमा लाग्नुपर्ने बताउँछन् । ‘उद्यमशील विना कसरी आउँछ समृद्धि ?’ भनेर सबैलाई भावना जगाउँन सफल भएका छन् लेखक । किताबमुक्त सिकाइले व्यावहारिक भोगाइमार्फत सिकाइबारे आफैं पहिचान हुने हुनाले लेखकले किशोरकिशोरीलाई नयाँ–नयाँ ठाँउ घुमेर ज्ञानको खुला प्रयोगशालामार्फत अघि बढ्न सकिने सुझाव दिन्छन् ।

    नयाँ पुस्ताले प्रविधिलाई मालिक होइन सेवक बनाउन पर्ने धारणा व्यक्त गर्दछन् । समृद्ध कार्यसंस्कृतिले मात्र समाजको रुपान्तरण गर्ने हुँदा समृद्धि सूत्र आफैंबाट शुरू हुने तर्क प्रस्तुत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राराताल किनारमा उभिएर हिमाली पर्यटनको उच्च सम्भावनाबारे दिएको अभिव्यक्तिले प्राकृतिक सौन्दर्यको प्रचुर सम्भावना र भविष्यले हामी सबैलाई रोमाञ्चित र आशावादी बनाएको छ ।

 अर्थ र व्यवस्थापन

    यो पुस्तकको ३ खण्डमध्ये मलाई सबैभन्दा महत्त्वपूर्ण लागेको खण्ड हो, अर्थ र व्यवस्थापन । हुन त कुन क्षेत्रलाई बढी महत्त्व दिइन्छ भन्ने कुरा आफ्नो रुचि र कार्यक्षेत्रले पनि प्रभाव पारेको हुन्छ । म स्वयं पनि व्यवस्थापनको विद्यार्थी हुनाले उनको यो खण्ड विशेष लागेको हुन सक्छ । लेखकले शुरूमै एक श्लोकमा योगी योगको वशमा हुन्छ, तपस्वी तपको वशमा हुन्छ, विद्धान विद्याको वशमा हुन्छ, राजनेता समाज र थितिको वशमा हुन्छ र यी सबै चाहिँ पैसाको वशमा हुन्छ भनि अर्थको सर्वव्यापी महत्त्व स्पष्ट पारेका छन् । तसर्थ मुलुकको अर्थव्यवस्था र यसको उचित व्यवस्थापनले सम्पूर्ण सर्वसाधारणको जीवनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा केही न केही प्रभाव पारेको हुन्छ । 

    अर्थ र व्यवस्थापन खण्ड अन्तर्गत १९ शीर्षकमा लेखकले उठाएका अर्थ र व्यवस्थापनका कुरामा नेपालमा पैसाको शुरूवात कसरी भयो ? यसको उचित व्यवस्थापन र प्रयोगको लागि नेपाल बैंकको स्थापनाले खेलेको भूमिका, वित्तीय साक्षरता र देशव्यापी वित्तीय पहुँचका लागि सुझाउनुभएका रणनीतिहरू साँच्चिकै आर्थिक समृद्धिको आधारशिला हुने विश्वास गर्न सकिन्छ । 

    बैंकिङ पहुँच बढाउन गर्नुपर्ने अभियानको लागि बैंकरको एजेण्डालाई राजनीतिक एजेण्डा बनाउन नहुने तर्क राख्छन् । भारतमा मोदीले जसरी अर्थशास्त्री, व्यवस्थापनविद् र बैंकरको सहयोगमा बनाएको पेपरलेस बैंकिङ एजेण्डालाई भारतमा एकै वर्षमा कार्यान्वयन गर्न सफल भए, त्यसैगरी नेपालमा पनि बैंकिङ पहुँच, वित्तीय साक्षरता बढाउँदै नगदरहित अर्थतन्त्र बनाउन सबै अर्थशास्त्री, लेखक, मिडिया र स्थानीय तहका जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने बताउँछन् ।

    सर्वसाधारणलाई नगदरहित अर्थतन्त्रको प्रयोगले एकातर्फ नोट छाप्ने खर्च जोगिएर राज्यको ढुकुटी बच्ने र अर्कोतर्फ अर्थतन्त्र पारदर्शी र औपचारिक बन्ने जसका कारण कालोबजारी, भ्रष्टाचार र सम्पति शुद्धीकरण नियन्त्रण गर्न सकिने लेखकको भनाइमा सहमत हुन सकिन्छ । यो नै समृद्धि र सुशासनको आधार बन्नेछ ।

    समृद्धिको लागि वित्तिय क्षेत्रको आफ्नै भुमिका दर्साउँदै लेखकले अर्कोतर्फ सरकारका आवधिक विकास योजना  र बजेटको विशेष महत्त्व औंल्याएका छन् । हाम्रा विकासका मोडल र बजेट अरुको देखासिकीमा बन्ने भएकाले योजना बन्ने र कार्यान्वयन नहुने समस्या वर्षौंदेखि दोहोरिँदै आएका छन् । यसलाई हटाउन लेखकले अबको योजना ४ वर्षे योजना बनाउनुपर्ने र धेरै कनिके योजना नभई आगामी ४ वर्ष ऊर्जाको वर्ष, औद्योगिक विकासको वर्ष, भौतिक पूर्वाधारको वर्ष वा कृषिको आधुनिकीकरणको वर्ष भनि कुनै एक कुरामा फोकस हुनुपर्ने रणनीति सुझाएका छन् । जुन निकै सान्दर्भिक र मननयोग्य छन् । हरेक बजेट आवधिक योजनासँग नमिल्ने, बजेट उत्पादनमुखीभन्दा वितरणमुखी भएको, फितलो कार्यान्वयन साथै पारदर्शिता, सुशासन र खर्चको सुनिश्चितता नभएकोमा लेखकले दुःख व्यक्त गर्दै यो हटाउन २५ बुँदे सुझाव समेत यस खण्डमा चर्चा गरेका छन् । बजेटले गरेको व्यवस्था हेर्दा जनप्रतिनिधिलाई करारको कर्मचारीको संज्ञा दिएका लेखकले आफ्नो स्वास्थ्यको पनि बेवास्ता गर्दै देश बनाउन संघर्षरत रहेका भिजनरी प्रधानमन्त्रीले जसरी सबै नेता, कार्यकर्ताका साथै कर्मचारीले एकलयमा काम गर्ने हो भने नयाँ युगको आर्थिक क्रान्तिको आधारशिला बन्ने बताउँछन् ।

    लेखकले देश र विदेशमा रहेका नेपाली युवालाई आफ्नै देशमा उद्यमशीलता गर्न प्रेरणा दिने सफलताका कथा, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको सफलताका आधार र स्वास्थ तथा शिक्षा क्षेत्रको गुणस्तर बढाउन रामकण्ठ माकजुको मोडल  रोचक रूपमा व्याख्या गरेका छन् ।

    दोस्रो विश्वयुद्धपछि विकासको लागि जापानले जापानिज व्यवस्थापन मोडलमा सफलता पाए जस्तै नेपालले आफ्नै मोडल बनाएर सार्वजनिक प्रशासन सुधार्दै विद्युत् उत्पादन र पर्यटन विकासमा जोड दिन सके हाम्रै पुस्ताले नेपालको समृद्धि देख्न सक्नेमा उनी विश्वस्त देखिन्छन् ।

राजनीति र कूटनीति

    पुस्तकको तेस्रो खण्डमा राजनीति र कूटनीति खण्ड अन्तर्गत २३ शीर्षकमा लेखकले नेपालमा नयाँ आधुनिक युगको शुरूआत २०७२ असोजबाट भएको र प्रधानमन्त्री केपी ओली नेपालको आधुनिक राजनीतिक इतिहासका सर्वशक्तिमान प्रधानमन्त्री भएको बताएका छन् । प्रधानमन्त्रीले भारतको नाकाबन्दीमा देखाएको आत्मविश्वासलाई जनताले साथ दिएको शाश्वत् सत्यको वर्णन गरेका छन् । प्रधानमन्त्रीले लिएको भूपरिवेष्टित मुलुकको विदेश नीति समसामिप्यताको विचारधारामा आधारित रहि कूटनीतिमा ‘प्याराडाइम शिफ्ट’ भएको हुनाले उनको यो विदेशनीतिलाई ‘ओली डक्ट्रिन’ भन्न सकिने लेखकको तर्कसँग सहमत हुने आधार यस पुस्तकमा प्रशस्त छन् । ओलीको कूटनीतिक अभ्यासले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपतिलाई समेत नेपालको ओजिलो भ्रमण गराइ अन्तर्राष्ट्रिय जगतमा नेपालको छिमेकी सम्बन्धको उचाइमा सकारात्मक प्रभाव पार्न सफल विदेशनीति ‘ओली डक्ट्रिन’लाई लेखकले एक माइलस्टोन मानेका छन् । यी २ महत्त्वपूर्ण भ्रमणमा भएका दुवै छिमेकीसँगका सम्झौता, समझदारी र प्रतिवद्धताले नेपालको विकासका लागि थुप्रै अवसर खुलेकोमा दुईमत छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नाकाबन्दी पश्चात् गरेको भ्रमणले ‘नेपाल–भारत सम्बन्ध नयाँ युगमा नयाँ शिराबाट’ भन्ने भनाइलाई लेखकले नेपालमाथि गरेको नाकाबन्दीको कोर्स करेक्सनको रूपमा व्याख्या गरेका छन् ।

    प्राध्यापक डा. जयराज आचार्यद्वारा लिखित पुस्तक ‘यदुनाथ खनालः जीवनी र विचार’ केही महिनाअघि पढेकी हुनाले वर्तमान कठिन चुनौतीको परिप्रेक्ष्यमा नेपालको विदेशनीतिलाई बौद्धिकीकरण गर्न यस पुस्तकमा उल्लेखित ‘ओली डक्ट्रिन’को भूमिका कालान्तरमा कति रहला भन्ने सकारात्मक सोचाइले भने मलाई उत्साहित बनाइरह्यो ।

    मध्यपुस्ताको विचारमा ‘गाउँघर युथलेस र टुथलेसमा बदलिएको’ परिप्रेक्ष्यमा यो संस्कृतिको अन्त्य नभएसम्म समृद्धि सम्भव नहुने कुरा यथार्थ लाग्छन् । ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षमा नेपाल मानिस र प्रकृतिले संयुक्त रूपमा सिर्जना गरेको एक भू–स्वर्ग हुने परिकल्पनालाई साकार पार्न हरेक क्रियाकलापको मापन गर्ने थ्योरी अफ चेन्जमा जोड दिँदै सरकारका कामको अनुगमन गरेर स्वस्थ सुझाव, सरसल्लाह दिनुपर्ने बताउँछन् । 

    सरकार सञ्चालनमा थिंक–ट्यांकको महत्त्व हुने तर थिंक–ट्यांक अलि स्वाभिमानी र अलि बढी अभिमानी हुनाले सही चयन गर्नुपर्ने मापदण्ड पनि सुझाएका छन् । यसलाई भजनमण्डली भने बनाउन नहुने तर्क व्यक्त गर्दछन् । आर्थिक बेथितिको अन्त्य गर्दै सुशासनको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गरेकको स्थिर सरकारले सेवा प्रवाहमा जोड दिनुपर्ने जसले जनतामा सकारात्मक सन्देश जाने सुझाउँछन् । 

    राजनीतिक नियुक्तिका सन्दर्भमा इमान्दारिता, क्षमता, सिर्जनशीलताले प्राथमिकता पाउनुपर्ने बताउँछन् । समग्रमा कोरोना महामारीको प्रत्यक्ष साक्षी भएर अघि बढेको हाम्रो पुस्ताले शिक्षा, स्वास्थ्य र श्रमको सम्मानका साथै आर्थिक विकास प्रतिको प्राथमिकतालाई अवसरका रूपमा लिएर नेपालको उज्यालो भविष्यको रेखा कोर्न सकिने आत्मविश्वास हामी सबैलाई जगाउन लेखक सफल भएका छन् । 

    यस पुस्तकमा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा व्यक्त शुभकामना सन्देशमा नेपालले स्वाभिमानका साथ अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्न यो पुस्तक सहयोगी हुने धारणा प्रकट गरेका छन्, जसले यो कृतिको महत्त्व अझ उजागर गरेको छ । आगामी दिनमा यस्ता खालका पुस्तकहरू प्रकाशित हुँदा कुनै एक विधामा केन्द्रित भएर त्यसैमा अझ गहन विचारहरू आउनेछन् भन्ने आशा गर्न सकिन्छ । यो पुस्तकले पाठकलाई आफ्नो समय र पैसाको सही मूल्य पाएको महसूस गराउने छ भन्ने मेरो विश्वास छ । दिव्य देउराली प्रकाशनले ४२५ रुपैयाँ राखेर प्रकाशित गरेको यो पुस्तकको सामान्य शीर्षकले कति ठूलो अर्थ र महत्त्व बोकेको रहेछ भन्ने थाह पाउन पनि ‘बत्तीमुनि उज्यालो’ एक पटक हामी सबैले पढ्नै पर्ने हुन्छ ।​



सम्पर्क ईमेल: kanaujesabita@gmail.com


मेरो यो लेख "बत्तीमुनिको अँध्यारोलाई उज्यालो बनाउँदै अश्विनकुमार पुडासैनीशिर्षकमा मिति नोवेम्वर १४ २०२० (कार्तिक २९,२०७७)  मा छापिएको छ।

https://www.lokaantar.com/story/124118/2020/11/14/ujyalo# 

If you enjoyed this article, Please get email updates (It’s Free)

यदि तपाईंले यस लेखलाई मन पराउनु भयोभने,  कृपया ईमेल अपडेटहरू प्राप्त गर्नुहोस् (यो नि: शुल्क हो)।



No comments:

Post a Comment